मानिसले आफ्नो जीवनमा के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने विषयमा आचार्य चाणक्यका दसवटा विचारः

  मूर्खसँग कहिल्यै विवाद नगर्नुहोस्

मूर्ख व्यक्ति समझदार नहुने भएकाले उसँग विवाद गरियो भने आफ्नै नोक्सान हुन्छ । मूर्खसँगको विवादबाट बच्नु छ भने चुप लागेर बस्नुपर्छ र आफ्नो विवेकले काम गर्नुपर्छ ।

 आफ्नो कमजोरी कसैलाई नबताउनु

आफ्ना नजिककालाई पनि आफ्नो कमजोरी बताउनु हुँदैन । बताईयो भने ती मानिसले रिसाएका बेला आफ्नो कमजोरी बाहिर ल्याईदिने सम्भावना हुन्छ ।

अर्को कुरा, हरेक व्यक्तिमा कुनै न कुनै कमजोरी अवश्य हुन्छ । आफ्नो आत्मसम्मानका लागि पनि यस्तो कमजोरी आफ्नी पत्नीलाई समेत बताउनु हुँदैन ।

 दोषमुक्त हुने प्रयाश गर्नुहोस्

एउटा दोषका कारण स्वर्गजस्तो जीवन एकाएक नरक बन्न सक्छ । अरुसँग राम्रो व्यवहार गर्नुहुन्छ, दयावान हुनुुहुन्छ, समाजसेवी हुनुुहुन्छ र धनवान हुनुुहुन्छ भने पनि एउटा गल्तीका कारण पनि कमजोर बन्नसक्छ । त्यसैले होशियार रहनुपर्छ ।

सोचेर बुझेरमात्रै खर्च गर्नुहोस्

धनका बारेमा विभिन्न भनाई प्रचलित छन्, जस्तै– धन जीवन हो । धन सबैथोक हो तर केही पनि होइन । धन भएन भने समाजमा इज्जत हुँदैन । के लिएर आएका थियौं र के लिएर जानेछौं । दुइदिनको जीवन रमाईलो गरेर बिताउनुपर्छ आदि ।

जसले जे भने पनि धनले मनुष्य जीवनमा विशेष भूमिका निर्वाह गरेको हुन्छ । त्यसैले यसको दुरुपयोग गर्नु भनेको आफूलाई बर्बाद गर्नतिर उन्मुख हुनु हो । पैसा जथाभावी खर्च नगरी आफूलाई चाहिएका कुरामा मात्रै खर्च गर्नुपर्छ र बाँकी बचत गर्नुपर्छ । यदि आफूसँग अलिकति मात्रै धन बचत छ भने पनि सुरक्षाको अनुभव हुन्छ ।

  बद्नाम हुनदेखि डराउनुहोस्

चाणक्यका अनुसार अपमानित भएर बाँच्नुभन्दा त मर्नु राम्रो हो । मृत्युले त एकपटक मात्रै दुःख दिन्छ तर अपमानले हरेक समय दुःख दिन्छ ।
मनुष्यले आफ्नो बद्नामीदेखि डराउनुपर्छ । यही डरले समाजमा व्यवस्था कायम भएको पनि हुन्छ । यदि  मानिसहरु यसबाट डराउन छाडेभने संसार अस्तव्यस्त हुनेछ ।

 आलस्य त्यागिदिनुहोस्

संसारमा केही प्रतिष्ठित मानिस मात्रै सफलताको सूचिभित्र अटाउँछन् । बाँकी मानिस सफल हुन सक्दैनन् । असफल हुनेहरुले सफल हुने मानिसहरुलाई त्यस्तै वातावरण मिलेका कारण या पुस्तैनी सम्पत्तिका कारण सफल भएको मान्छन् । तर यो गलत धारणा हो ।

धेरै मानिस गरीब परिवारमा जन्मिएर पनि धनी बनेका छन् । उनीहरु र असफल मानिसहरुमा एउटा प्रमुख फरक हुन्छ, त्यो हो– आलस्यता । मिहिनेत गर्नेहरु आलस्यबाट टाढै रहन्छन् र आफूले गरिरहेको काम पूरै एकाग्रताकासाथ गर्छन् । त्यसैले सफल हुनका लागि सबैभन्दा पहिलो कुरा आलस्य त्यागेर परिश्रम गर्नुपर्छ । भनाई नै छ– ‘अल्छी मान्छेको कुनै वर्तमान र भविष्य हुँदैन ।’

अरुका कुरा गर्ने मानिसमाथि विश्वास नगर्नुहोस्

यदि तपाईंले कुनै मानिसका अगाडि कुनै कुरा राख्नुभयो तर उसले त्यस कुरामाथि खासै वास्ता गरेन भने उसले पछि धोका दिन सक्ने सम्भावना हुन्छ । यस्ता मानिसमाथि विश्वास गर्नबाट बच्नुपर्छ ।

यदि कसैले तपाईंसँग आएर अरुका कुरा गर्छ भने उसले तपाईंका बारेमा पनि अरुलाई बताउने सम्भावना हुन्छ । त्यसैले यस्ता मानिसबाट  बच्नुपर्छ ।

आफूभन्दा कम  या धेरै प्रतिष्ठा भएका मानिसलाई साथी नबनाउनुहोस्

चाणक्यका अनुसार, कहिल्यै पनि आफूभन्दा कम या धेरै प्रतिष्ठा भएका मानिससँग मित्रता गाँस्नु हँुदैन । यस्तो गर्दा कहिल्यै पनि खुशी हुन सकिँदैन ।

कम प्रतिष्ठा भएका मानिससँग मित्रता गाँस्यो भने सधैं दुःखमा रहिने छ । यस्ता मानिसले सधैं तपाईंबाट सहयोगको आशा राख्नेछन् र तपाईंबाट फाइदा लिने बारेमा मात्रै सोच्नेछन् । यदि तपाईं कुनै संकटमा पर्नुभयो भने उनीहरुले  तपाईंलाई सहयोग गर्न सक्ने छैनन् ।

यदि तपाईंले आफूभन्दा धेरै प्रतिष्ठा पाएको व्यक्तिसँग मित्रता गाँस्नुभयो भने आफूलाई सधैं त्यही व्यक्तिसँग तुलना गर्न थाल्नुहुनेछ । यसले गर्दा तपाईंभित्र ईष्र्याको भावना जाग्नेछ । तपाईंले आफूलाई कमजोर सम्झनुहुनेछ । यस्तो भाव तपाईंको आत्मसम्मानका लागि ठीक हँुदैन । आफूलाई परेका बेला उसले सहयोग गरेन भने तपाईंलाई आफ्नो मित्रताप्रति रिस उठ्ने छ । यिनै कुरालाई ध्यानमा राख्दै मित्रता सधैं आफैंसमानको मानिससँग मात्रै गाँस्नुपर्छ ।

  वर्तमानमा जीवन बिताउनुहोस्

विगत सम्झेर कहिल्यै पनि पश्चाताप गर्नुहुँदैन । भविष्यको चिन्ता पनि गर्नुहँुदैन । विवेकवान मानिस सधैं वर्तमानमै बाँच्छ ।

यदि जीवनलाई सुखी बनाउनु छ भने सधैं अहिलेमा बाँच्नुपर्छ । हामीसँग आउने भोलि र बितेको हिजो हँुदैन । भोलि आउनै बाँकी छ र हिजो गैसक्यो । त्यसैले यिनलाई सम्झेर पश्चाताप गर्नु भनेको जीवनलाई दुःखी बनाउनु हो । त्यसैले सधैं अहिलेको समयलाई राम्रो बनाउने कोसिसमा लागिरहनु पर्छ ।

  खुशी रहनु छ भने मोहबाट टाढै रहनुहोस्

मानिसहरु आफ्ना नातेदारका कारण दुःखी रहन्छन् । आचार्य चाणक्य भन्छन्– ‘आफ्ना सम्बन्धीहरुसँगको अत्यधिक लगावले मानिसलाई चिन्तामा पुर्याउँछ । उसले धेरै दुःखको सामना गर्नुपर्ने हुन्छ ।’

यदि कसैसँग मोह छ भने हामी मोहको चक्रमा फस्छौं । (चाणक्य नीतिबाट अनूदित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here