काठमाडौं – समाजवादी पार्टीले प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित सांसद सूर्यनारायण यादवलाई राजीनामा फिर्ता लिन दबाब दिएको छ ।
पार्टीलाई जानकारी नदिई यादवले सोमबार सभामुख कृष्णबहादुर महरासमक्ष राजीनामा दिएका थिए । उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन् ।
समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले उनलाई राजीनामा फिर्ता लिन आग्रह गरेको बताए ।
‘स्वास्थ्यमा समस्या परे उपचारका लागि विदा बस्न पाइन्छ, राजीनामा दिनुपर्दैन,’ उनले भने ।
सांसदको दलीय आबद्धतासमेत हुने भएकाले राजीनामा स्वीकृतिका लागि दलले समेत सभामुखलाई चिठी लेख्नुपर्छ । प्रमुख सचेतक अरगरियाले राजीनामा स्वीकृत गर्न चिठी नपठाएको बताए ।
राजनीतिक वृत्तमा भने सांसद यादवको राजीनामालाई उपचुनावलाई लक्षित गरेर कुनै नेतालई उक्त ठाउँमा उठाउने योजनासँग जोडेर हेरिएको छ ।
विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा आएका सिके राउतलाई संसदभित्र छिराउन राउतकै जिल्लाको सिट खाली गराइएको आशंका पनि केहीले गरेका छन् ।
कान्तिपुर दैनिकमा समाचार छ ।