साउन शुक्ल पूर्णिमाका दिन आज बिहिबार चूडाकर्म गरेका तागाधारीले मन्त्रणा गरिएको नयाँ जनै फर्ने र अन्यले नाडीमा रक्षावन्धन बाँध्दैछन् । तराई क्षेत्रमा दिदी बहिनीले दाजुभाइलाई ‘राखी’ बाँधेर यो पर्व मनाउँदैछन् ।
जनैको छ शिखालाई ज्ञान, कर्म र उपासना तथा ब्रह्मा, विष्ण्ुा महेश्वरको प्रतीक मानिन्छ । सक्नेले सबै पूर्णिमामा वा नसक्नेले वर्षको एक पटक मन्त्रणा गरिएको जनै लगाउँदा राम्रो हुन्छ भनिएको छ ।
ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार जनै धारण गर्दा वा रक्षा वन्धन गर्दा दुष्ट प्रेत पिशाचले नसताउने र अशुभ विनास विघ्नवाधा हट्ने, मुद्दा मामलामा जीत हुने, सन्तान सुख हुन्छ भनेर भविष्य पुराणको उत्तरपर्वमा व्याख्या गरिएको छ ।
यमलाई यमुनाले डोरो बाँधिदिएर यमराजको रक्षा गरेको सन्दर्भमा तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई नाडीमा राखी बाँधिदिने चलन छ । दानवद्वारा उपद्रव खेपेका देवताका गणलाई रक्षा गर्न गुरु वृहस्पतिले दानवराज वलिराजालाई मन्त्रणा गरिएको डोरोले बाँधेर राखेको प्रसङ्गसँगै तागाधारीले नाडीमा रक्षावन्धन बाँध्ने चलन छ ।
जनैपूर्णिमाका लागि पशुपतिनाथ बिहानैदेखि जनै फेर्नेहरु भिड लागेको छ ।
जनैको महत्व
प्राकृतिक रुपले धनी देश नेपाल सांस्कृतिक रुपले पनि धनी छ । खुसीयाली मनाउन विभिन्न चाडपर्व मनाइन्छ । हरेक चाडपर्वको फरक मुल्य र मान्यता हुने गर्छ । यस्तै एक पर्वमा जनै पुर्णिमा हो ।
जनै हिन्दु पुरुषले धारण गर्ने पवित्र अभिमन्त्रीत धागो हो । यसलाई व्रतवन्ध गरेका व्रामण र क्षेत्रीय पुरुषले आयु, तेज, शौर्य, बल, बुद्धि र समृदि प्राप्तीकालागी धारण गरिने विश्वास छ ।
जनै पुर्णिका दिन पुरुषहरुले जनै फेर्ने हुनाले र यो पर्व श्रावणशुक्ल पूर्णीमाको दिन पर्ने हुनाले सो नाम रहन गएको हो । जनैलाई संस्कृतमा यज्ञोपवित भनिने हुनाले यस दिनलाई ब्रह्मसुत्र पनि भनिन्छ । यस दिन स्नान गरेर पवित्र भइ पुजा अराधना गरि मन्त्र जाप गरेर जनै फेरिन्छ । महिलाहरुले भने डोरो बाध्ने चलन छ । डोरोलाई सुरक्षाको प्रतिक मानिने हुनाले नाडीमा यस दिन डोरो बानिन्छ । यस दिन बाँधिएको डोरो तिहारको तेस्रो दिन गाईको पुच्छरमा बाँधेमा मृत्यु पश्चात स्वर्गमा स्थान पाउने विश्वास छ ।
यस्तै नेपालको तराई भेगमा भने यहि दिन रक्षावन्धन पर्व मनाइन्छ । राखी बाँधेमा दाजुभाईको सम्बन्ध दिदीबहिनीसँग राम्रो हुनुको साथै दाजुभाई जिम्मेवार हुने विश्वास छ । प्राचिन कालमा कृष्णलाई चोट लाग्दा द्रोपतिले आफ्नो सारी च्याति बेरिदिएको र कृष्णले बहिनी भनेर सम्बोधन गरि परेको समयमा सँधै रक्षा गर्ने वाचा गरेको र सोहि अनुरुप कौरवले द्रोपतिको चिरहण गर्ने प्रयास गर्दा कृष्णले द्रोपतिको सारी कहिल्यै नसकिने बनाइदिएर वाचा पुरा गरेको किम्वदन्तीले यो चाडको मुल मर्म जोडिएको छ । रक्षा बन्धन मनाउने प्रचन कसरी सुरु भयो भन्ने पछाडि विभिन्न कथा रहेका छन् तर यो पर्व मुख्यत् दाजुभाईको सम्बन्ध दिदीबहिनीसँग अझ प्रगाड होस् भन्ने मान्यता साथ मनाइन्छ । दाजुभाईलाई टिका लगाई नाडिमा विभिन्न रङ र विभिन्न तरिकाले सजाइएका राखी बाँधेर र मिठा परिकार खान दिएर र दाजुभाईले उपहार दिएर यो चाड मनाइन्छ ।
यस्तै नेवार समुदायमा भने जनै पूर्णीमालाई क्वाटी पूर्णीमा भनेर मनाउने चलन छ । चना, भट्मास, राजमा, बोडि, केराउ, मस्याङ आदि ९ गेडागुडीलाई ३ देखि ४ दिनसम्म उमारेर यस दिन बाक्लो झोल हुने गरि पकाएर खाने चलन छ । यो परिकार स्वास्थ्यकालागी पोषक हुने र पर्व पनि मानिने मान्यताले क्वाटी पूर्णीमा मनाइन्छ ।
असार पन्ध्रमा दही च्यूरा, साउन पन्ध्रमा खीर भोजन गरेर जनै पूर्णिमाका दिन झोल सहितको मनतातो क्वाँटी भोजन गर्दा असार–साउनको झरी र खण्डेवृष्टीले मानिसमा कफ, पित्त, वायु असन्तुलनमा राखेर विरामी पार्ने सम्भावना रहेकोले क्वाँटी खाने प्रचलन रहेको वैद्यराज सुवर्ण वैद्य बताउनुहुन्छ ।
क्वाँटी भोजनले यो याममा कफ, पित्त, वायु सन्तुलनमा राख्ने भएपनि युरिक एसिड भएकाले भने क्वाँटी खान नहुने वैद्यराजको भनाइ छ ।
सबै पूर्णिमा महत्वका भएपनि विशेष गरेर कोजाग्रत पूर्णिमा, बुद्ध पूर्णिमा, जनै पूर्णिमा र चैत पूर्णिमा अझ बढी महत्वका रुपमा चिनिन्छन् ।