काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशमा संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको देखिएको भन्दै कडा निन्दा र भत्सर्ना गरेका छन् ।
‘नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन,’ देउवाले विज्ञप्तिमा भनेका छन् । एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेर संसदीय मुल्य मान्यता विपरीतको व्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक भएको देउवाको भनाइ छ ।
केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर भएको उनले बताए । ‘बलमिच्याईंले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनी सहित अपील गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
