रामेछाप -रामेछापको खाँडादेवी गाउँपालिका १ खैरेनीघाटमा सशस्त्र प्रहरी बलको अस्थायी पोष्ट स्थापना गरीएको छ । जिल्लामा निषेधाज्ञाको अवधिमा समेत खैरेनीघाटको पुल भएर जिल्लामा ओहोर दोहोर भइरहेको सूचनाको आधारमा उक्त स्थानमा सशस्त्रको अस्थायी पोष्ट राखिएको हो ।
सशस्त्र प्रहरी बल आश्रीत गुल्म रामेछापका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक केशवराज प्याकुरेलका अनुसार सशस्त्र प्रहरीको पोष्टमा खटिएका सुरक्षाकर्मीले उक्त नाका भएर लुकिछिपी जिल्ला प्रवेश गर्नेलाई नियन्त्रण गर्नुका साथै अत्यावश्यक कामका लागि आवत जावतमा अनुमति पाएकाहरुलाई सुरक्षा मापदण्ड वमोजिम हिडडुल गर्न सल्लाह दिनुका साथै हेल्थडेक्सबाट चेकजाँच समेत हुने गरेको छ । सुनापति गाउँपालिकाले उक्त पोष्टमा हेल्थ डेक्सको सेवा प्रदान गर्ने गरेको छ ।
रामेछापको पश्चिमी प्रमुख नाका खैरेनीघाटबाट काठमाण्डौंको ओहोर दोहोर धेरै मात्रामा हुने गरेको छ । दोरम्बा, सुनापति र खाँडादेविको केहि भागका बासिन्दा उक्त नाका भएर काठमाण्डौं ओहोर दोहोर गर्छन् । गत बर्ष पनि उक्त नाकामा सशस्त्र प्रहरी बलले अस्थायी पोष्ट राखेको थियो ।