नेपाली सेनाका अवकासप्राप्त रथी बालानन्द शर्मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी)को प्रमुखमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सचिवसरहको उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
शुक्रबार राजपत्रमा प्रकाशित भएको ‘कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’अनुसार शर्मा सिसिएमसीमा नयां सदस्यका रुपमा नियुक्त भएका हुन् । यसअघि सिसिएमसीको प्रमुख प्रधानमन्त्री कार्यालयको सचिव थिए । शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न वनेको विशेष समितिको संयोजक समेत भएर काम गरिसकेका थिए ।
शर्मासंग नेपाली सेनामा हुंदा फोर्स कमाण्डरको रुपमा काम गरेको अनुभव समेत छ ।
नयां अध्यादेशअनुसार सिसिएमसीको सदस्यहरुमा नेपाल सरकारको १२ औं तहको अधिकृत, नेपाली सेनाको उपरथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १÷१ एआईजी, गृह मन्त्रालय र उद्योग मन्त्रालयका सहसचिव सदस्य हुनेछन् ।
यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको सीसीएमसीमा जेठ ७ गते नयाँ अध्यादेश जारी भएपछि कोभिड–१९ निर्देशक समिति मातहत आएको थियो । जसको संयोजन प्रधानमन्त्री ओलीले गर्नेछन् ।नयाँ ऐनले व्यवस्था गरेअनुसार सरकारले समितिको मुख्य कार्यकारी निर्देशकमा पूर्व रथी शर्मालाई नियुक्त गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा निर्देशक समिति छ । जसको प्रमुख यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल रहेका थिए । निर्देशक समितीमा त्यसमा उपप्रधानमन्त्रीसहित, स्वास्थ्य, गृह, अर्थ, उद्योग, परराष्ट्रमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र सिसिएमसीको प्रमुख सदस्य सचिव हुने व्यवस्था गरिएको छ ।