विवेकशील साझा पार्टीका नेता तथा वैकल्पिक राजनीतिका अभियन्ता उज्ज्वल थापाको निधन भएको छ। विवेकशील नेपालीको संस्थापक अध्यक्ष समेत रहेका थापाको कोभिडका कारण निधन भएको हो।
साझा विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले आज अपरान्ह ४ः२५ बजे उपचारका क्रममा थापाको निधन भएको जानकारी दिए । सोमबार मात्रै उनको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि स्थास्थ्य अवस्था अत्यन्त जटिल बनेको थियो ।
कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यहाँबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो । ग्राण्डीबाट उनलाई मेडिसिटीमा लगिएको थियो । विवरणअनुसार उनको एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (इसीएमओ) विधिबाट उपचार भइरहेको थियो । भेन्टिलेटर मात्र पर्याप्त नहुने बिरामीका लागि यो विधि प्रयोग गरिन्छ ।
४४ वर्षका थापा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष हुन्। थापा लामो समयदेखि शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने माग उठाउँदै आएका थिए।