एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको स्थायी समिति सदस्यहरुको छलफल सकिएको छ । छलफलले अध्यक्ष ओलीले एकताका नाममा जारी गरेको वक्तव्यले पार्टी एकता नहुने निष्कर्ष समेत निकालेको छ । सोमबार भर्चुअल विधिबाट बसेको स्थायी समिति बैठकले यस्तो ठहर गरेको नेता युवराज ज्ञवालीले जानकारी दिए ।
‘अहिले पनि हामी एकताकै पक्षमा छौ, तर अध्यक्ष ओलीले आइतबार जारी गरेको वक्तव्यले एमालेलाई जेठ २ को अवस्थामा फर्काउने संकेत गरेको छैन’, नेता ज्ञवालीले भने, ‘संविधान मिचेर संसद विघटन गरेकोप्रति पनि उहाँले आत्मालोचना गर्नुभएको छैन ।’
नेता ज्ञवालीले स्थायी समितिका सदस्यहरुको बीचमा भएको छलफलले अध्यक्ष ओलीको प्रस्तावमा आफ्नो समुहले लिखित जवाफ नै दिने तयारी गरेको समेत जानकारी दिए । ‘प्रेस स्टेटमेन्ट तयार हुदैछ बरिष्ठ नेताले जारी गर्नुहुन्छ । त्यसमा धेरै कुरा आउँछन्,’ नेता ज्ञवालीले भने ।
त्यस्तै खनाल नेपाल समुहको छलफलले ओलीले भनेजस्तो प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा पुगेको मुद्दाको हस्ताक्षर समेत फिर्ता लिन नसक्ने ठहर गरेको छ । ‘ओलीले एकताको नाममा एकताको विपक्षमा वक्तव्य जारी गर्नुभएको छ, । यसलाई हामीले गम्भीर रुपमा लिएका छौ ’नेता ज्ञवालीको भनाइ छ ।