काठमाडौं – भाषा परीक्षा उत्तीर्ण गरेर लामो समय देखि कोरिया जान नपाएका श्रमिकहरुले समाजिक सञ्चाल ट्वीटरमार्फत् सरकारलाई ध्यानाकर्षण गराउने अभियान चलाएका छन् ।
सरकारले उचित पहल नगर्दा अन्य देशबाट कोरियाले कामदार लिइसक्दा पनि नेपालबाट नलगेको भन्दै सरकारको ध्यानाकर्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई ‘मेन्सन’ गर्दै ट्वीटरमार्फत ‘जस्टिस फर ईपीएस पासर’ अभियान चलाएका हुन् ।
उनीहरुले #justiceForEPSpassers लाई बुधबार र बिहिबार नेपालको ट्वीटर ट्रेन्डिङको एक नम्बरमा ल्याएका छन् । अहिलेसम्म यो अभियानमा करिब २८ हजार ट्वीट भइसकेका छन् ।
कोभिड १९ पछि नेपाली श्रमिकले पाउने कोरियाको रोजगारीमा अन्योल छ । २०७६ फागुनको पहिलो सातादेखि नै ईपीएस प्रणालीमार्फत एक जना पनि श्रमिक नेपालबाट कोरिया जान पाएका छैनन् ।
वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाकाअनुसार नियमित भाषा परीक्षा पास गरेर ‘लेबर कन्ट्रयाक्ट’ आइसकेका करिब सात हजार र कोरियाबाट प्रतिवद्ध कामदारका रुपमा फर्किएका तीन हजार जना श्रमिक यतै रोकिएका छन् ।