बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्यासम्म गर्ने भनेर संसदमै दिएको अभिव्यक्तिको एमालेकै एकजना नेताले समर्थन जनाएका छन्।
एमाले केन्द्रीय सदस्य एवम् विघटित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले सांसद वैद्यको अभिव्यक्ति अप्रिय लागे पनि सत्य भएको भन्दै थप असंवेदनशील टिप्पणी गरेका छन्।
‘नेपाली मनोविज्ञानलाई बाग्मती प्रदेशको रोष्टमबाट बोलिएको बिषयमा धेरैले आलोचना गरिरहे पनि तितो सत्य उजागर गर्नुभएकामा धन्यवाद भन्न चाहन्छु,’ चौधरीले फेसबुकमा भनेका छन्।
प्रदेश सभामा वैद्यले प्रधानमन्त्रीविरूद्ध दिएको आपत्तिजनक अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला माधव नेपाल पक्षीय एमाले केन्द्रीय सदस्य चौधरीले माफी माग्नु नपर्ने तर्क गरेका छन्।
‘उहाँले न माफी माग्नु पर्दछ न त पश्चाताप ! बरू हामी शासक भनिनेहरू नै प्रणाली ध्वस्त गर्ने बिषयमा ख्याल गरौँ। संविधान मिचेकोमा पश्चाताप गरौँ। अदालतले बेठीक ठहर गरेको बिषयमा सार्वजनिक रूपमा जनतासँग माफी मागौँ’, उनले भनेका छन्, ‘आगामी दिनमा गल्ती नगर्ने विषयमा प्रतिबद्धता जाहेर गरौँ। अतः अब जनताको मनोविज्ञान बुझौँ। त्यही अनुसारको व्यवहार र आचरण देखाऔँ। जनताको मन जितौँ, गुमेको साख उठाऔँ। कसैसँग बदलाको भाव नराखौँ। यसैमा हामी सबैको कल्याण हुन्छ।’