रामेछाप – कोभिड– १९ विरुद्धको खोप दुरुपयोग भएको विषयलाई लिएर समाचार लेखेको भन्दै पत्रकार महासंघ बागमती प्रदेश समितिका सदस्य तथा अन्नपूर्ण टाइम्स डटकमकी सह–सम्पादक ज्ञानु श्रेष्ठलाई अपशब्द प्रयोग गर्दै सडकमा नै कुटपिट गर्नेसम्मको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै समाचारमा चित्त नबुझेमा कानूनी उपचार खोज्ने ढोका खुल्ला हुँदाहुँदै गालीगलौज र कुटपिटसम्मको धम्की दिनु, समग्र पत्रकार र पत्रकारिता पेशालाई नै अपमानित र अमर्यादित शब्द प्रयोग गर्नु निन्दनीय विषय भएको महासंघले जनाएको छ ।
‘पत्रकारलाई धम्की दिने रामेछाप नगरपालिका ६ स्थित जनकल्याण माविका शिक्षक ख्यान बहादुर श्रेष्ठलाई कानूनी कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं । साथै लक्षित वर्गको लागि प्राप्त खोपको दुरुपयोग गर्ने कार्यको छानविन गरी दोषिलाई कारबाही गर्न समेत माग गर्दछौं।’ विज्ञप्तिमा भनिएको छ।