काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई नै साथ दिने संकेत गरेका छन् ।
आज बिहान अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुसँगको भेटमा नेपालले त्यस्तो संकेत गरेका हुन् ।
नेपाल निवास कोटेश्वर पुगेर ओली पक्षीय नेताहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिएर पार्टी एकतामा फर्किन आग्रह गरेका थिए ।
नेपाल गठबन्धनबाट फर्किए उनले भने बमोजिम नै पार्टी अघि बढ्ने भन्दै आफूहरूले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न सुझाव दिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङ नेम्वाङले बताए ।
नेताहरुसँग माधव नेपालले कुनै प्रतिक्रिया दिएनन् । नेता नेम्वाङले भने, ‘एमाले मिलेको सन्देश दिन दुई नेता बसेर कुरा गर्नुस् भनेका छौं हामीले, त्यो भनेको विपक्षी गठबन्धनबाट फर्किनुस् भनेको हो ।’
नेपाललाई भेट्न उपमहासचिव विष्णु पौडेल र नेताहरू सुवास नेम्वाङ तथा शंकर पोखरेल पुगेका थिए ।
