काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार प्रवेश गरेका छन् । ओलीकै बोलावटमा उनी बालुवाटार पुगेको स्रोतले बतायो ।
एमाले केन्द्रीय समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधव पक्षका सांसदलाई दुई दिनको अल्टिमेटम दिएको थियो । सो अल्टिमेटम भोली सकिँदैछ । त्यसअघि नै दुई पक्षबीच सहमति जुटाउन दोस्रो तहका नेता सक्रिय छन् ।
स्रोतका अनुसार माधव पक्षका भीम आचार्य, घनश्याम भुषाल लगायतका नेताले रावलसँग वार्ता गर्न बालुवाटारलाई सुझाव दिएका थिए ।
माधव नेपाललाई सबैभन्दा बढी प्रभाव पार्न सक्ने नेता रावल भएकाले उनलाई वार्तामा डाक्न सुझाव दिइएको हो । अन्य नेताहरुले पहल गर्दा नेपालले प्रधानमन्त्री ओलीसँग भेट्नसमेत अस्वीकार गर्दै आएका छन् ।
हस्ताक्षर फिर्ता लिनका लागि दिइएको ३ दिने अल्टिमेटमको समय सकिनु अगाडि अघिल्लो दिन बेलुकी रावल ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।
ओलीका निर्णयप्रति तीव्र असन्तुष्टि जनाउँदै आएका नेता रावल आफैं उनलाई भेट्न गएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
रावल यसअघि एमालेले बनाएको विवाद समाधान कार्यदलमा माधवकुमार नेपाल पक्षका संयोजक थिए। तर, प्रतिनिधि सभा विघटनपछि रावलसहित ११ नेतालाई ओलीले कारबाही गरेपछि कार्यदल निष्क्रिय भएको थियो।
रावलबाहेक कार्यदलमा रहेका अन्य नेताहरू भने एमाले एकताका लागि निरन्तर संवादमा बस्ने गरेका थिए।
