काठमाडौँ – देशको पछिल्लो राजनीतिक घटनाक्रमप्रति नयाँ पार्टी ,नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वर्तमान प्रधानमन्त्रीले दोस्रो पटक प्रतिनिधि सभाको विघटन गरेपश्चात देश गम्भीर राजनीतिक दुघर्टनाको पर्न लागेको पार्टीको ठहर छ ।
आज एक विज्ञप्ति जारी गर्दै नयाँ पार्टी ,नेपालले संविधानलाई छलेर निरन्तर अध्यादेशमार्फत ओली सरकारले शासन चलाइएकोले संविधान समेत निष्कृय बन्न पुगेको बताएको छ। प्रतिनिधि सभा समेत कोमामा निष्प्रभावी भएको मौकामा केही शक्ति भारतीय योजनामा नेपालमा हिन्दु राष्ट्र र राजतन्त्रको पुर्नस्थापना गर्छौँ भनी अझ नेपाललाई अस्थिरता प्रदान गर्न लागेको भन्दै आपत्ति जनाएको छ ।
पार्टीले कुनै पनि विदेशीले ल्याइदिने हिन्दु राष्ट्र र राजतन्त्र नेपाल र नेपाली जनतालाई स्वीकार नहुने कुरा स्पष्ट पारेको छ । ”नेपाली जनताले आफ्नो भाग्य र भविष्य बारे आफैँ फैसला गर्न सक्ने हुँदा जनताले वैदिक सनातनी धार्मिक व्यवस्था र राजतन्त्र रोजेमा भने नयाँ पार्टी ,नेपाल स्वागत गर्न चाहन्छ ।” विज्ञप्तिमा भनिएको छ।
राजनीतिक ,संवैधानिक शुन्यता आएको वर्तमान परिवेशमा तत्कालीन संसदमा प्रतिनिधित्व गर्ने दल, निर्वाचन आयोगमा दर्ता भई क्रियाशिल रहेका संसद बाहिरका राजनीतिक दल ,पुर्व राजा ,विप्लव नेतृत्वको नेकपा ,विभिन्न आन्दोलनरत पक्ष सहितको वृहद राष्ट्रिय राजनीतिक सभाको आयोजनाको लागि राष्ट्रपति समक्ष सिफारिस गरी वृहद राष्ट्रिय राजनीतिक सभामार्फत वर्तमान राजनीतिक ,संवैधानिक गतिरोधको निकास खोज्न पहल कदमी लिन सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलीलाई नयाँ पार्टी ,नेपाल विशेष ध्यानाकर्षण गराएको छ ।
साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत कुनै खास दलको पक्षपाती भई कार्य गर्नु भन्दा देशको वर्तमान राजनीतिक ,संवैधानिक गतिरोध अन्त्यको लागि भुमिका खेल्दै संविधानको रक्षा र देशको अभिभावकको भुमिका खेल्न माग गरेको छ । अन्यथा त्यसो नगरिए देश भयंकर द्धन्द्धमा फस्ने कुरामा सचेत गराएको छ ।
