नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कुटनीतिक कमजोरीका कारण नेपालमा कोरोना विरुद्धको खोप आउन नसकेको आरोप लगाएका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल सरकार खोप ल्याउने कुरामा सम्पूर्ण रुपमा असफल भएको दाबी गरेका हुन् ।
अपरिपक्व कुटनीतिका कारण सरकारका सबै कुटनीतिक प्रयासहरु असफल भएको टिप्पणी उनले गरे । अमेरिकी सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको, भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किम अन्र्तगत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भइरहेको तथा श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकत्वमा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिँदै उनले ‘सरकार किन फेल भयो ?’ भनी प्रश्न गरे ।
उनले भने– ‘नेपाल सरकार खोप ल्याउने कुरामा सम्पूर्ण रुपमा फेल भएको स्थिति छ । कुटनीतिक प्रयासहरु फेल भएको छ । यो कसरी भयो किन फेल भयो ? ती देश र ती कम्पनीहरूसँगको नेपालको सम्बन्ध किन चिसो भयो ? नेपाल सरकारसँग किन डिल गर्न चाहेनन् ।
दक्षिण एशियाका ४ वटा देशहरुले ल्याउन सफल भए, नेपालले ल्याउन सकेन । यो कुरा महसुस गर्ने कि नगर्ने ? यति कुरा भन्दैमा हामीलाई कुनै जनावरहरूसँग तुलना नगरियोस् । यो मेरो प्रश्न हो । फेल भएको हो कि होइन सरकार ? यो महसुस गर्ने कि नगर्ने ?’
उनले वर्तमान सरकार कमिसन एजेण्टहरुको घेराउमा परेको दाबी पनि गरे । उनले कमिसनमा कुरा नमिलेका कारण कोभिड शिल्ड खोप आउन नसकेको दाबी गरे । कमिसन एजेन्टले पैसा नपाएका कारण कोभिडशिल्ड खोप नआएको उनको भनाई छ ।
उनले भने, ‘कोभिडसिल्डको १० लाख डोज खोप नआउनुको पछाडि पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भनिसक्नुभएको छ, कमिसनको खेलका कारण । कमिसन एजेण्डहरुले अहिलेको सरकारलाई घेरिराखेका छन । मेरो आरोप त्यो छ ।’
राष्ट्रियसभाकी सदस्य कोमल ओलीलाई इंकित गर्दै उनले खोप किन आउन सकेन भनेर आफुले देखेका सामान्य कुरा भन्दै गर्दा कुनै जनावरसँग तुलना नगर्न पनि आग्रह गरे । ओलीले राष्ट्रियसभा सोमबारको बैठकमा सरकार विरोधी गठबन्धनलाई बाँदरको संज्ञा दिदै व्यंग्य कविता बाचन गरेकी थिइन् ।
उनले सरकारको गलत नीतिका कारण परराष्ट्रमन्त्रालयले काम गर्न र त्यही कारणले डिप्लोमेटिक डिलिङ फेलियर भएको जिकिर गरे ।
कुटनीतिक फेलियरका कारण हामीले खोप ल्याउन सकिरहेका छैनौ । यसलाई रियलाईज गर्न सरकार तयार छ कि छैन ?’ उनले भने– ‘हाम्रा परम्परागत मित्रहरु चीन भारत, अमेरिका, जापान लगायतका जर्मनी फ्रान्स जस्ता देशहरु र हाम्रो रिलेसन कोल्ड भयो । नेपाली काँग्रेसको कन्सन्ट त्यो हो ।
