काठमाडौँ- नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरुप बसेको कार्यदलको बैठक सकिएको छ । आजको बैठक सकारात्मक रहेको कार्यदल संयोजक सुवास नेम्वाङले जानकारी दिए। बैठकबाट बाहिरिदै गर्दा उनले आज साँझ ७ बजे पुन : बसेर विवादलाई समाधान गर्ने सहमति भएको बताए।
नेम्वाङले सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य आवश्यक रहेकाले साँझ पुनः बस्ने गरी बैठक सकिएको बताए । उनले भने, आजै निष्कर्षमा पुग्ने प्रयास हुन्छ । बाहिरी चर्चाको पछाडि नलागौं, वार्ता सकारात्मक छ ।’ बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् ।
यसअघि बुधबार सम्पन्न बैठकमा पार्टी विवादका विषयलाई कसरी टुंगोमा पुर्याउने भन्ने विषयमामा छलफल भएको थियो। बैठकमा पार्टीभित्रको विवादित विषय, भिन्न मत र असहमति कहाँ–कहाँ छन् र यसलाई कसरी समाधानमा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको कार्यदलका एक सदस्यले बताए।
यसअघि आजको बैठक ढिला गरी सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुरु भएको थियो । माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावल आउन ढिलाइ भएको कारण कार्यदलको बैठक आधा घण्टा ढिला भएको थियो ।
एमालेको एकता जोगाउन भन्दै केही समय अगाडि गठन भएको कार्यदल सोमबारदेखि सक्रिय बनेको छ ।
पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ ।
हिजो ओली र नेपालको वान टु वान वार्तापछि कार्यदल सदस्यहरुसँग दुवै नेताले संयुक्त छलफल गरेका थिए । मेरियटमा नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी थिए ।
कार्यदलका सदस्यहरुले ओली र नेता नेपाललाई तीन दिन कार्यदलमा भएको छलफल, सहमतिको मस्यौदा लगायतका विषयमा ब्रिफिङ गरेका थिए ।
