काठमाडौँ – नेकपा एमालेको विवाद समाधानको लागि गठित कार्यदलको बैठक जारी रहेको बेला माधव नेपाल पक्षका युवा नेता पनि छलफलमा जुटेका छन्। उनीहरू पनि पार्टी एकता भएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको एक नेताले बताए।
छलफलमा नेपाल पक्षका युवा नेता ठाकुर गैरे, रामकुमारी झाँक्री, यज्ञ सुनुवार लगायतका नेताहरू रहेका छन्। हिजो मात्रै झाँक्रीले सामाजिक संजालमा ‘लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य सर्त रहेको बताएकी थिइन् । हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ,’ उनले भनेकी छन्, ‘अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ । त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न ।’
कार्यदलको बिहीबारको बैठकपछि भने बरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता घनश्याम भूसालले वार्तामा १० दिनदेखि कुनै प्रगति नभएको बताएका थिए ।
सहमति जुट्न नसक्नुमा नेता नेपाल पक्ष अडानमा कायमै रहनु र त्यसका निम्ति ओली पक्ष तयार नहुनु हो । वार्तामा दोस्रो तहका नेताहरुका अनुसार २ जेठ २०७५ अगाडिको अवस्थामा फर्कन सहमति जुटेको छ । यो अडान छाड्न ओली समूहका नेताहरु तयार छन् ।
तर नेपाल समूहले भने २३ फागुन यताको सबै निर्णय खारेजको प्रस्ताव गरेको छ । अध्यक्ष ओलीले २८ फागुन यता माधव नेपाल समूहका नेताहरुलाई भूमिका विहीन बनाउनेगरी संगठन निर्माण र दशौं महाधिवेशनसम्मका निम्ति महत्वपूर्ण निर्णय गरेका छन् । नेपाल समूहले ओली पक्षले गरेका सवै निर्णय खारेज हुनुपर्ने र आफ्नो तर्फबाट भएको निर्णयहरु पनि खारेज हुने अडान लिएको छ ।
नेपाल समूहले अर्को अडान छ, केन्द्रीय कमिटीमा सन्तुलन । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्दा थपिएका ३८ केन्द्रीय सदस्य एक्लौटी गरिएको थियो । बादल समूहबाट २३ जना केन्द्रीय सदस्य पनि थपिएका छन् । यो सबैलाई स्वीकार गर्दा केन्द्रीय सदस्यमा सन्तुलन मिलाउनुपर्ने नेपाल पक्षको माग छ ।
तेस्रो अडान हो, सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता नलिने । अध्यक्ष ओलीले भने हस्ताक्षर फिर्ताको अडान अझै छोडेका छैनन् । बुधबार साँझ बरिष्ठ नेता नेपालसँग ‘वान अन वान’ वार्तामा पनि ओलीले यो अडान राखेका थिए ।
