महिला सांसदले उठाएका सवाललाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो

काठमाडौं – राष्ट्रिय सभाका महिला सदस्यहरूले महिला सांसद तथा नेताहरूले उठाएका सवाल सञ्चारमाध्यमको प्राथमिकतामा नपरेको गुनासो गरेका छन्। विवादित र राजनीतिक विषय सञ्चारमाध्यमको पहिलो प्राथमिकतामा पर्दा महिला सांसदहरुले उठाएका महत्वपूर्ण र संवेदनशील विषय ओझेलमा पर्ने गरेको उनीहरुले गुनासो गरेका हुन्।

‘महिला जनप्रतिनिधिहरुले उठाएका सवाल र आमसञ्चार माध्यमको प्राथमिकता’ विषयमा संसद सचिवालयले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै सांसदहरुले यस्तो गुनासो गरेका हुन्।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय सभाका सदस्य डा. विमला राई पौड्यालले कानुन निर्माणमा महिला सांसदको सक्रिय सहभागिता रहेको भन्दै सञ्चारमाध्यमले यस्ता विषय खोजेर समाचार तयार गर्नुपर्ने बताइन् ।

राष्ट्रिय सभाको दुई वर्ष (२०७५–०७६) को तथ्यांक केलाउँदै उनले कानून निर्माणको क्रममा परिमार्जन भएका ३३ वटा विधेयकमा संशोधन दर्ता गराउने महिला सांसदको सहभागिता ३२.७५ प्रतिशत देखिएको जानकारी गराए। यस्तै प्रतिनीधि सभातर्फ परिमार्जन भएका ३९ वटा विधेयक हेर्दा संशोधनमा महिला सांसदको सहभागिता ५०.६ प्रतिशत देखिएको पौड्यालले बताइन् ।

कानून निर्माणमा महिला र पुरुष सांसदका प्राथमिकता फरक देखिएको उनको भनाइ छ। विधेयक संशोधनमा महिला सांसदको प्राथमिकतामा लैंगिक समानता, जेष्ठ नागरिक, जातीय विभेदजस्ता सामाजिक मुद्दा पर्ने गरेको र पुरुष सांसदको प्राथमिकतामा मिडिया काउन्सिल, सूचना प्रविधि, प्रहरी समायोजनजस्ता राजनीतिक र विवादित विषय परेको उनले बताइन्।

महिला सांसदको सहभागिता बलियो र विषय महत्वपूर्ण हुने भए पनि संशोधन पारित भने कम हुने गरेको सदस्य पौड्यालले बताइन् । उनका अनुसार १० वटा नमुना विधेयकमा महिला सांसदले राखेका ८१ संशोधनमध्ये जम्मा २५ प्रतिशत स्वीकृत भएको देखिन्छ।

हाल सञ्चारमाध्यममा सामाजिक भन्दा राजनीतिक विषयको प्राथमिकता र कभरेज बढी देखिएको भन्दै पौड्यालले सामाजिक क्षेत्रको कानुन सुधार गर्न सञ्चार क्षेत्रले महिला सांसदले उठाएका सवालको कभरेज बढाउनुपर्ने र बहस गर्ने/गराउने गर्नुपर्ने सुझाव दिए ।

कानुन निर्माणमा सक्रिय महिला सांसदहरूसँग अन्तरवार्ता गर्ने, उनीहरुले राखेका सवाल सार्वजनिक बहसमा लैजाने गरेर सञ्चारमाध्यमले महिला सांसदको भूमिकालाई प्रभावकारी बनाउन सघाउनुपर्नेमा राष्ट्रिय सभाका महिला सदस्यहरुको जोड छ।

राष्ट्रिय सभाको शून्य समयमा (२०७५–०७६ र २०७६–०७७ को अवधिमा) बोल्ने ४४ सांसदमध्ये २१ जना महिला रहेका, जून राष्ट्रिय सभामा उपस्थित महिला सांसदको तथ्यांकका आधारमा ९५ प्रतिशत भएको र विशेष समयमा बोल्ने ५२ मध्ये १९ महिला (८६ प्रतिशत) रहेकाले महिला सांसदको सक्रियता र प्रभावकारी भूमिकामा प्रश्न गर्ने ठाउँ नदेखिएको पौड्यालको भनाइ छ।

राष्ट्रिय सभामा रहेका ४ समितिमध्ये दुईवटाको नेतृत्व (५० प्रतिशत) महिलाले गरेका र ती समितिले आयोजना गरेका बैठक, सरकारलाई दिएको निर्देशन तथा उठाएका सवाललाई हेर्दा अत्यन्तै प्रभावकारी देखिएको र महिलाले नेतृत्व गरेकै कारण ती समितिको काममा प्रश्न उठाउनुपर्ने ठाउँ नरहेको पनि उनले बताइन् ।

महिला सांसदको कामलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने र महिला सांसदको दह्रो सहभागिता र प्रभावकारिताले सामाजिक रुपान्तरण छिटो हुने र परिवर्तनका लागि सघाउन सक्ने भएकाले सञ्चारमाध्यमले यसतर्फ ध्यान दिन पनि महिला सांसदहरुले सुझाव दिएका छन्।

अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार अशोक दाहालले सञ्चार माध्यमको नेतृत्वमा थोरै महिला, राजनीति र संसदीय विधामा कलम चलाउने पत्रकार महिलाको संख्या कम तथा महिलाप्रति कम संवेदनशील र समभावको अभावका कारण महिला नेता तथा सांसदले सञ्चारमाध्यमबाट सोचेजस्तो सहयोग पाउन नसकेको बताए।

राजनीतिमा पनि नेतृत्व तहमा महिलाको कमी, महिला राजनीतिज्ञको सूचनामा कम पहुँच, महिला राजनीतिज्ञ सूचनाको स्रोत बन्न कठिन हुँदा पनि यस्तो समस्या देखिएको उनको भनाइ छ।

महिला सांसदले संसदमा उठाएका विषय र गरेका काम कारबाहीबारे मिडियाले उचित कभरेज गरे ? भनेर सोधिएको प्रश्नमा महिला सांसदहरुले कभरेजमा चित्त नबुझेको, नेतृत्व तहमा महिला नभएका कारण वा अन्य केही कारण प्राथमिकतामा नपर्ने गरेको, कभरेज भए पनि सन्तुलित र चित्तबुझ्दो नभएको जवाफ दिएका थिए।

महिला प्रतिनिधिका विषय निकै कम, नकारात्मक विषय धेरै र छिटो आउने तथा सकारात्मक कुरा कम आउने गरेको भन्दै नेताहरुले गुनासो गरे।

भनेको र गरेको कुरा एउटा हुने तर मिडियामा अर्कै समाचार आउने, कतिपय बैठक तथा कार्यक्रममा बोल्दै नबोलेका कुरा पनि सञ्चारमाध्यममा समाचार बनेर आउँदा आफूहरु नै आश्चर्यमा पर्ने भन्दै नेताहरुले यस्तो किन हुन्छ? भनेर प्रश्न राखे।

सांसद शारदादेवी भट्टले भनिन् , ‘समिति बैठकमा मैले बोल्दै नबोलेको कुरा मिडियामा समाचार बनेर आयो। कोभिडको बेला स्कूल कहिले खुल्ने हुन् भनेर भनिन् भन्ने मिडियामा आयो। तर, मैले यस्तो कुरा बोलेकै थिइनँ।’

राजनीति र संसदीय विषयलाई नै आफ्नो बिट बनाएर काम गरिरहेका पत्रकारले यस्ता कुरामा ध्यान दिन र मिहीन ढंगले अध्ययन गरेर मात्रै समाचार तथा कार्यक्रम तयार गरिदिन पनि महिला नेताहरुले आग्रह गरे।

सञ्चारमाध्याममा लैंगिक संवेदनशीलताको अभाव, महिला सांसदहरुलाई समान स्थान दिन नसक्नु, समाचार सामग्रीमा सन्तुलन अभाव तथा पत्रकारलाई प्रशिक्षण र तालिमको अभाव देखिएको साथै राजनीतिमा अपर्याप्त मिडिया साक्षरता, पत्रकारसँग जनसम्पर्कमा कम प्राथमिकता, सांसदहरुसँग जनसम्पर्क, सञ्चार सम्पर्क सहयोगी नहुनु, मिडिया परिचालनको अभावजस्ता थुप्रै समस्या रहेको दाहालले आफ्नो प्रस्तुतिमा बताए। आउँदा दिनमा यस्ता समस्या कम गर्दै लैजान सांसदहरुलाई सहयोग गर्न उहाँले संसद सचिवालयलाई सुझाव समेत दिए।

महिला सांसद र सञ्चार माध्यमबीचको दूरी कम गर्न तथा महिला सांसदले खेलेका भूमिकालाई थप प्रभावकारी बनाउन समय–समयमा यस्ता अन्तरक्रिया तथा छलफल गर्न आवश्यक रहेको राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले बताइन् ।

आगामी दिनमा पनि सञ्चारमाध्यमसँग निरन्तर छलफल गर्नुपर्ने भन्दै उनले मिडियासँगको सम्बन्धलाई थप प्रभावकारी र सुमधुर बनाउन महिला सांसदहरुसँग आग्रह गरिन् । सञ्चारमाध्यमले पनि महिला नेताका अन्तरवार्ता, समाचारमा उनीहरुको बाइट लिन थप ध्यान दिन उनले आग्रह गरिन् ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको