नेकपा एमालेको केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएपछि माधव नेपाल पक्षले यसबारे आफुहरूलाई थाहा नभएको बताएको छ । एमालेभित्रको विवाद मिलाउने कार्यदलको प्रयास असफल भएको संकेत देखिएको छ । नेपाल पक्षका नेता एक नेताले अन्नपूर्ण टाइम्ससंग भने, ‘स्थायी बैठक बोलाइएको हामीलाई जानकारी छैन । बैठक हो भने पनि ३ बजे बोलाएर ४ बजे को जान्छ ?’
एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी रहेको बेला ओली पक्षले आइतबार अपरान्ह चार बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएसँगै विवाद समाधानको प्रयास निरर्थक बनेको आँकलन गरिएको छ ।
यसअघि बिहान कार्यदलले तयार गरेको सहमतिको मस्यौदालाई वरिष्ठ नेता माधव नेपालले अस्वीकार गर्दै सच्याउन भनेका थिए । नेपालले असहमति जनाएपछि कार्यदलका सदस्यहरु सहमतिका लागि पुनः छलफलमा जुटेका थिए । ओली पक्षका नेताहरुले आजै सहमतिमा हस्ताक्षर हुने दाबी गरेका थिए ।
सहमति नजुटी ओली पक्षले स्थायी कमिटी डाकेपछि माधव नेपाल पक्षमाथि कारवाही हुने सम्भावना बढेको छ । आजको बैठकमा पूर्व माओवादी पक्षबाट थपिएका स्थायी समिति सदस्यहरु पनि सहभागी हुने बताइएको छ ।
एकताका लागि गठन गरिएको कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले आज बिहान ८ बजेसम्म ‘सुखद खबर’ आउने जानकारी पत्रकारलाई दिएका थिए । यद्यपि अहिलेसम्म कार्यदलले सहमतिको मस्यौदालाई पूर्णता दिन सकेको छैन ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राखेका केही मागबारे अझै सहमति जुट्न सकेको छैन । सहमति नजुट्दै ओलीले स्थायी कमिटी बैठक बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।