काठमाडौं – पूर्व वनमन्त्री एवं सांसद प्रेमबहादुर आलेले मन्त्रीका लागि बूढानीलकण्ठ धाएको तथा माधव नेपाल गुटमा लाग्ने तयारीको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।
निवर्तमान वन तथा वातावरणमन्त्री आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको स्पष्ट पारेका छन् । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै उनले ठूलै पद दिए पनि आफूले कुनै हालतमा नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओलीका साथ नछाड्ने दृढता व्यक्त गरे ।
उनले आफूले मन्त्री बन्नका लागि कसैलाई भेट्न नगएको बताउँदै भने, ‘मैले शेरबहादुर देउवालाई भेटेको छैन, भ्रामक समाचारको खेती गर्न बन्द गरौँ, गलत अफवाह नफैलाऔँ ।’ पूर्वमन्त्री तथा एमाले नेता आले एक हप्तादेखि ढाडको नशा च्यापिएर ब्लु लोटस अस्पतालमा उपचार गराइरहेका छन् । एमाले एक हुनुपर्नेमा पनि उनले जोड दिए ।
ढाडको नसा च्यापिएर घरमा आराम गरिरहेको भन्दै उनले विज्ञप्तिमार्फत आफू नेकपा (एमाले) को एकताले मात्र नेपालको राष्ट्रियता, लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनको रक्षा गर्न सकिन्छ भन्नेमा दृढ रहेको बताएका छन् ।
‘केही हप्तादेखि मेरो ढाडको नसा च्यापिएर ब्ल्यू लोटस अस्पताल त्रिपुरेश्वर, काठमाडौमा फिजियोथेरापी गरी आफ्नो घरमा आराम गरिरहेको अवस्थामा मेरो नाम जोडेर केही सन्चारमाध्यमले मन्त्री हुनका लागि बूढानीलकण्ठदेखि माधव नेपाल गुटमा लाग्ने तयारी गरेको समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, आलेले लेखेका छन्, ‘ म मन्त्री पद प्राप्त गर्न कुनै शक्ति केन्द्र वा नेताको घरमा गएको छैन तर नेकपा (एमाले) को एकताले मात्र नेपालको राष्ट्रियता, लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनको रक्षा गर्न सकिन्छ भन्ने मेरो दृढ़ मान्यता छ ।’
आफ्नो प्रतिक्रियाबेगर भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै उनले गुनासोसमेत गरेका छन् ।
