काठमाडौं – नेकपा (एमाले) को माधव नेपाल पक्षले नेताविरुद्धका उत्तेजक नारावाजी रोकेर पार्टी एकताका काममा लाग्न अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

बुधबार बसेको नेपालपक्षीय स्थायी कमिटी सदस्यहरूको बैठकले गरेको निर्णय सुनाउँदै नेता रघुजी पन्तले भने, ‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने, वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारावाजी गर्ने एवम् पुत्ला जलाउने र सर्वोच्च अदालतले आफ्नो विवेकको प्रयोग गर्न स्वतन्त्र रहेको आदेश दिएको अवस्थामा उनीहरूविरुद्ध उत्तेजक गतिविधि र नारावाजी गर्ने काम तत्काल रोकिनुपर्छ । यस्ता गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताका कामलाई गम्भीरताका साथ अगाडि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गराउँछ ।’

आजको बैठकले पार्टी एकताका पक्षमा जोड दिएको उनले जानकारी दिए । ‘हामी छलफलमा बस्यौं,’ पन्तले भने, ‘सबैको जोड एकतामा थियो । एकता प्रक्रियालाई जोड दिनुपर्छ भन्नेमा सबैको सहमति रह्यो ।’

एकता वार्ता चलिरहेका बेलामा फेरि स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्नु भएको उनको भनाइ छ । एमालले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई हिजोको मिति आज स्पष्टीकरण पत्र पठाएको छ ।

विपक्षी गठबन्धनमा लागेर पार्टी अनुशासन उल्लंघन गरिएको उल्लेख गरिएको पत्रमा २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने ? भनी सोधिएको छ ।

नेपाल पक्ष अनुपस्थित रहेको एमालेको केन्द्रीय कमिटी बैठकले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सोहीअनुसार अध्यक्ष ओलीले पठाएको पत्र सांसदहरूले बुधबार प्राप्त गरेका छ्न्।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए।

‘गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गर्दछ’, बैठकमा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here