काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सकिएको छ। तीन दिनदेखि जारी ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बसेको बैठक भर्खरै सकिएको छ।  बैठकमा महासचिव ईश्वर पोखरेलले हिजो बैठकमा उठेका प्रश्नहरुको जवाफ दिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकमा अध्यक्ष केपी शर्मा ओली सरकारले गरेका कामको समिक्षा गरिनुका साथै सरकारमा हुँदा गरेका कामलाई लिएर जनतामाझ जाने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताए।

त्यस्तै केन्द्रीय कमिटी बैठकले संविधानको धारा ७६ को (५)लाई सच्याउन (संशोधन गर्न) पहल गर्ने प्रस्ताव पारित गरेको छ।

सर्वोच्च अदालतले २८ असारमा सुनाएको फैसलामा धारा ७६ को उपधारा (५) का सन्दर्भमा गरिएको ब्याख्या निर्दलीयतालाई प्रसय दिने खालको भएकाले त्यसलाई संशोधन गर्नेसहितको प्रस्ताव पारित भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।

बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा ४ वटा ‘विशेष’ प्रस्ताव पारित भएको ज्ञवालीले जानकारी दिए। बुधबारको बैठमा सर्वोच्चको असार २८ गतेको फैसला, पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको ४१ महिनाको समीक्षा, संसदमा प्रतिपक्षीको रुपमा पार्टीको भूमिका र आन्तरिक विवादका सन्दर्भमा पेस भएका प्रस्ताव पारित भएको ज्ञवालीले जानकारी दिए।

दोस्रो प्रस्तावका रुपमा ओली नेतृत्वको सरकार अनेकन प्रतिकुलताका वावजुद एतिहासिक कामहरु गर्न सफल भएको ठहर गरिएको छ ।

तेस्रो प्रस्तावमा एमालेले प्रतिपक्षका रुपमा प्रभावकारी भूमिका खेल्ने तथा संविधान, राष्ट्रियता र लोकतन्त्रका विषयलाई अग्रपंतिमा रहेर उठाउने उल्लेख छ ।

चौंथो प्रस्ताव कार्यकर्ताहरुलाई विद्यमान परिस्थितिबाट निराश नहुन आह्वान गर्दै छिट्टै पार्टील कमब्याक गर्ने भनिएको छ ।

कमब्याकको अर्थ के हो भन्ने पत्रकारको प्रश्नमा ज्ञवालीले भने, ‘यो भनेको फेरि चुनाव जितेर सरकारमा आउँछौं भनेको हो ।’ बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिमसम्म प्रत्यत्न गर्ने बताएका थिए ।

त्यस्तै ओलीले बैठकलाई सम्बोधन गर्दै पार्टी एकताको लागि अन्तिमसम्म पहल गर्ने बताएको उनले जानकारी दिए। पार्टी बैठक बिहिबार ३ बजेको लागि फेरि बोलाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here