काठमाडौं – नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन्। घण्टौं लाम लागे पनि ज्येष्ठ नागरिक नै त्यत्तिकै घर फर्किएका थुप्रै उदारहण छन्। पहुँचवालाले भने सहजै घरमै पनि खोप लगाउन पाएका छन्।

खोपको आसमा रहेका ७२ प्रतिशत नागरिकलाई खोपमा पहुँच पुर्‍याउन धौ–धौ देखिएको छ। विश्वभर साढे ३ अर्बभन्दा बढी व्यक्तिले खोप लगाउँदा नेपालमा ४।३ प्रतिशतले मात्र पाएको देखिन्छ। कोरोना भाइरसबाट जोगिन १८ वर्षभन्दा माथिका नागरिकको नजर खोपमै केन्द्रित छ। देशव्यापी रूपमा २९ असारदेखि खोप अभियान सञ्चालन गरिए पनि कतिपय जिल्लामा स्थगन गरिएको छ।

मुलुकभर जारी अभियानमा तीन किसिमका खोप लगाइएको छ। कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोभिसिल्डको पहिलो डोज लगाउनेको संख्या १८ लाख २८ हजार ४ सय ८४ छ। दोस्रो डोज पाउनेको संख्या ४ लाख ६० हजार ७ सय ३४ छ। १४ लाख २३ हजार ४ सय ४७ जनाले भेरोसेलको पहिलो डोज लगाएका छन्। भेरोसेलको दोस्रो डोज पाउनेको संख्या ६ लाख ८२ हजार ३ सय ९२ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पछिल्लो समय सञ्चालन भइरहेको जोन्सन एन्ड जोन्सन एक डोज मात्र लगाए पुग्छ। ८१ हजार ३ सय ५२ जनाले यो खोप लगाएका छन्।

धेरैभन्दा धेरै नागरिकलाई खोप लगाउन नसके तेस्रो लहरको जोखिम झन् बढ्ने विज्ञहरू बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेलका अनुसार कोरोना परीक्षण पनि न्यून गर्ने र खोपमा पनि ढिलाइ गर्दा संक्रमण झन् बढ्ने जोखिम हुन्छ। सहप्रवक्ता डा. अधिकारीका अनुसार अहिले औसत संक्रमणदर २२ प्रतिशत छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख डा। अनुप बाँस्तोला निषेधाज्ञा खुकुलो भएसँगै कोरोना पुष्टि हुनेको संख्या क्रमशः बढ्दै गएको बताउँछन्। ‘हरेक दिन १५ देखि २० जना व्यक्ति कोरोना संक्रमणको लक्षणसहित आइरहेका छन्। तीमध्ये ७ देखि १० जनालाई भर्ना गर्नुपरिरहेको छ’, डा। बाँस्तोला भन्छन्, ‘अस्पतालको शय्या खाली हुन पाएको छैन।’

खोप केन्द्र : संक्रमणको थलो ?

मुलुकभरका ५ हजारभन्दा बढी खोप केन्द्रमा भीडभाड देखिन्छ। भौतिक दुरी कायम नगर्ने, हतार गर्ने प्रवृत्तिले खोप केन्द्र नै संक्रमणको थलो हुने जोखिम बढाएको छ। खोप लगाएर फर्केको केही दिनपछि ज्वरो आउने, खोकी लाग्नेलगायत लक्षण देखिएको डा। बाँस्तोला सुनाउँछन्। ‘खोप अभियान चल्दै गर्दा ती ठाउँमा सुरक्षाका मापदण्ड नअपनाएका कारण खोप लगाएको पाँच–छ दिनपछि कोरोना संक्रमणका लक्षण लिएर अस्पताल आउने क्रम जारी छ’, डा। बास्तोला भन्छन्।

खोपको स्थानीय व्यवस्थापन र सूक्ष्म योजनाको समन्वय प्रदेश र सोमातहतका सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय सरकारले गर्छन्। तर, अहिले प्रभावकारी समन्वय नहुँदा खोप केन्द्र भद्रगोल बनेका हुन्। मन्त्रालयले यथेष्ट खोप केन्द्रको व्यवस्था गर्न, खोप दिने जनशक्ति व्यवस्थापन गर्न अपिलसमेत गरेको छ। ‘सबैको पालो आउँछ। पालो नभएको बेला भीडभाड नगरौं। खोप केन्द्रमा धेरै भीडभाड भए संक्रमण हुनसक्छ’, सहप्रवक्ता डा. अधिकारी भन्छन्।

खोप लगाउन आउनेको संख्या धेरै भएकाले व्यक्ति व्यक्तिबीचको भौतिक दूरी कायम हुन सकेको छैन। खोप लगाइसकेपछि खोप केन्द्रमा २ मिटर दूरी कायम राखेर आधा घण्टा बस्नुपर्ने हुन्छ। सम्भव भएसम्म स्यानिटाइजर साथमै बोक्ने र कुनै पनि सतह छुनेबित्तिकै हात सफा गर्नुपर्छ। ‘लाइनमा बसेर दूरी कायम गरी आफूलाई संक्रमणबाट जोगाउनु अपरिहार्य छ। स्वास्थ्य मापदण्ड तोडेपछि आउँदा दिन कठिन हुनेछ। तेस्रो लहरको संक्रमणमा पर्ने जोखिम छ’, डा। बास्तोला भन्छन्, ‘खोप लगाइसकेपछि अब मलाई केहि हुँदैन भन्ने सोचेर स्वास्थ्य मापदण्ड नअपनाउँदा खोप लगाएका व्यक्तिहरू पनि सिकिस्त संक्रमित भएर अस्पतालमा भर्ना हुने संख्या जारी छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले हालै मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई खोप कार्यक्रम व्यवस्थित गर्न निर्देशन दिएका थिए। अत्यधिक भीडभाड भएको र कतिपय स्थानमा लक्षित समूहले खोप प्राप्त नगरेको पाइएपछि प्रधानमन्त्री देउवाले उनीहरूलाई बोलाएका थिए।

मन्त्रालयका सहप्रवक्ता डा। अधिकारीका अनुसार विश्वव्यापी रूपमा सफल भएका र गुणस्तरीय खोप नै नेपाल ल्याइएको छ। खोपको गुणस्तर कायम राख्दै खोप अभियान चाँडो सक्न प्राथमिकतामा राखेको डा। अधिकारीको भनाइ छ। जसमा विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले मान्यता दिएका खोपहरू मात्र ल्याएर प्रयोग गरिने उनी बताउँछन्।
‘१८ वर्षभन्दा माथिका व्यक्तिका लागि बनाइएका खोप ल्याएर ७२ प्रतिशत जनसंख्यालाई लगाउने तयारी छ’, उनी भन्छन् । उनका अनुसार १२ देखि १८ वर्षसम्मका व्यक्तिको हकमा अरु मुलुकमा सफल भएका खोप प्रयोग गर्न सकिने गरी योजना बनाइँदै छ।

खोप विज्ञ श्यामराज उप्रेतीका अनुसार कोभिसिल्ड खोप लगाएपछि ७६ प्रतिशत संक्रमणबाट जोगाउँछ भन्ने छ। ‘तीनवटै खोपले अस्पतालमा भर्ना हुने दर र मृत्यु हुने दर घटाएको पाइएको छ’, उनी भन्छन्। भेरोसेलको ७९ प्रतिशत प्रभावकारी मानिएको छ। त्यस्तै, जोन्सन एन्ड जोन्सनको ६६ प्रतिशत प्रभावकारी देखिएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here