काठमाडौं -नवनियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारी मार्फत पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शीतलनिवासमा आयोजित विशेष समारोहबीच शपथ लिएका हुन् ।

हिजो मंगलबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी प्रदेशमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।
केपी शर्मा ओली हटेसँगै बनेको नयाँ सरकारमा सहभागी दलको भागबण्डाअनुसार गुरुङ नेपाली कांग्रेस र शेरचन माओवादी कोटाबाट नियुक्त भएको बताइएको छ ।
शेरचन यसअघि गण्डकी प्रदेशमा प्रदेश प्रमुख भइसकेका हुन् भने गुरुङ कांग्रेसका चितवन जिल्ला सभापति भइसकेका व्यक्ति हुन् ।
