प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीविरुद्ध ‘केही तत्त्व’ले बखेडा झिकेको आरोप लगाएपछि नेकपा एमालेका उपाध्यक्ष भीम रावल आक्रोशित भएका छन्।
प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारले सय दिन पुगेको अवसरमा गोरखापत्र दैनिकलाई दिएको अन्तर्वार्तामा एमसीसी नेपालको हितमा रहेको दाबी गर्दै ‘केही तत्त्व’ले बखेडा गर्न खोजेका आरोप लगाएका छन्।
यसैका विरुद्ध एमाले उपाध्यक्ष रावलले बुधबार साँझ सामाजिक सञ्जालमार्फत देउवाविरुद्ध टिप्पणी गरेका हुन्।
‘नेपालको स्वाधीनताविरोधी एमसीसी सम्झौताको विरोध गर्नेहरूलाई प्रम देउवाले ‘बखेडा झिक्ने केही तत्व’ भन्नु महाकाली सन्धि गरी राष्ट्रियताको ‘तत्त्व’ नष्ट गर्ने दिमागकै उपज हो’, रावलले भनेका छन्, ‘राष्ट्रघाती प्रावधान नहटाई सम्झौता अनुमोदन गर्न एमसीसीसँग प्रश्न उत्तरको नाटक गर्नेहरू विदेशभक्तिका वाहक हुन्।’
नेपालको स्वाधीनता विरोधी एमसीसी सम्झौताको विरोध गर्नेहरूलाई प्रमं देउवाले ‘बखेडा झिक्ने केही तत्व’ भन्नु महाकाली सन्धि गरी राष्ट्रियताको ‘तत्व’ नष्ट गर्ने दिमागकै उपज हो।राष्ट्रघाती प्रावधान नहटाई सम्झौता अनुमोदन गर्न एमसीसीसंग प्रश्न उत्तरको नाटक गर्नेहरू विदेशभक्तिका वाहक हुन्।
— Dr. Bhim Rawal (@BhimRawal179) October 20, 2021
प्रधानमन्त्री देउवाले एमसीसीको विषयमा जुन प्रचार गरिएको छ, त्यो कुरा नभएको दाबी पनि गरेका छन्।
‘एमसीसी नेपाललाई दिइएको त्यो ‘ग्रान्ट’ हो। ब्याजमा होइन यो’, देउवाले भनेका छन्, ‘ऋण होइन, अनुदान हो। केही तत्त्व छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन्।’
एमसीसी नेपालको कानुनभन्दा माथि छ भन्ने कुराको पनि प्रधानमन्त्री देउवाले खण्डन गरेका छन्।
‘वास्तवमा विश्व बैंककै कुरा गर्ने हो भने ऊसँग झगडा भयो भने अन्तर्राष्ट्रिय कानुन आकर्षित हुन्छ। एडीबी, आईएमएफमा पनि त्यही हो। तिनका जति पनि ऋण छन्, त्यस विषयमा मुद्दा परेमा अन्तर्राष्ट्रिय कानुनअनुसार जान्छ’, देउवाले भनेका छन्, ‘नेपालको कानुनले हेर्नै पाउँदैन। यो सन्दर्भलाई नेपालको कानुनभन्दा माथि भनेर बखेडा निकालिएको छ।’
