चितवन – प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिव पदमा उम्मेदवारी दिने भएका छन् । एमाले पोलिटव्युरो सदस्यसमेत रहेका उनले चितवनमा हुने एमालेको १० औँ महाधिवेशनमा आफूले सचिव पदमा उमेदारी दिन लागेको जानकारी दिएका हुन् ।

चितवनमा सुरु हुन लागेको महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर पुगेका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको प्रतिक्रिया दिए ।

यसैबीच, केन्द्रीय सदय महेश बस्नेत र केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पनि सचिवमा उम्मेदवारी दिने बताइसकेका छन् । त्यस्तै गाेकुल बास्काेटा, पार्वत गुरुङ र एमाले कर्णाली प्रदेश सहसंयोजक यामलाल कँडेलले पनि सचिवमै उम्मेदवार बन्ने चाहना चितवन पुगेर पनि दोहोर्याएका छन् ।

सचिव योगेश भट्टराईले पनि चितवन पुगेर सचिवमा दोहोरिने इच्छा व्यक्त गरेका छन् । उनले आफूसँग अझै १५ वर्ष सक्रिय राजनीति गर्ने सुविधा रहेको भन्दै अहिले सचिवमै दोहोरिन चाहेको बताए । एमालेमा सचिव ७ जना चुनिएर आउनेछन्।

यसैबीच, महाधिवेशनको सम्मुखमा आइपुग्दासम्म मुख नखोलेका एमालेका नेताहरू महाधिवेशन स्थल नपुग्दै धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

१०औँ महाधिवेशनमा उपाध्यक्ष भीम रावलले मात्र अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् । आज बिहान चितवन पुगेका रामबहादुर थापा ‘बादल’ आफ्नो उम्मेदवारीबारे मौन बसे । उनले सहमतिमा नेतृत्व चयन गर्ने बताए पनि अन्य नेताहरू भने भरतपुर विमानस्थल उत्रिएर उम्मेदवारी घोषणा गरिरहेका छन् ।

नवौं महाधिवेशनमा महासचिवमा पराजित भएका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले विमानस्थलमै महासचिव पदमा आकांक्षा देखाएका छन् । उनले महासचिवबाहेकका पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरे ।

नेकपा एमालेकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाकी सांसद विन्दा पाण्डेले पार्टीको उपमहासचिव पदमा उमेदवारी दिने भएकी छिन् । एमालेको दशौं महाधिवेशनमा आफूले उपमहासचिवमा उठ्ने तयारी गरिरहेको पाण्डेले बताएकी छन् ।

उनले भनिन्, ‘म पार्टीको उपमहासचिवका लागि योग्य छु, सहमति गरेर मनोनयनको व्यवस्था नै नगरे अर्को कुरा नत्र म उपमहासचिवमा उम्मेदवारी दिन्छु।’

नेकपा एमालेमा १५ जना पदाधिकारी हुने व्यवस्था छ। १५ जनामध्ये कम्तीमा पनि एक तिहाइ महिला पदाधिकारी हुनु पर्ने माग उठिरहेको छ। एमालेका केही नेताहरूले अहिले पार्टी चौतर्फी घेराबन्दीमा रहेकाले दशौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व छान्नु पर्ने बताइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here