नेपालमा ह्वात्तै कोरोना संक्रमित थपिएका छन्। देशभर आज झन्डै एक हजार जना कोरोना संक्रमित थपिएका छन्।
देशभर आज थप ९६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २६२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १३ हजार ७०९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ७४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
कोभिड–१९ को सङ्क्रमणबाट थप कसैको मृत्यु भने भएको छैन गुमाएका छन् । हालसम्म देशभर ११ हजार ६०२ जनाले ज्यान गुमाइसकेका छन् ।
नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।
पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो ।
एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको प्रवक्ता डा। संगीता मिश्राले जानकारी दिएकी छन् ।
ओमिक्रोन भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन भनिएको उनले बताइन् ।