काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना पुष्टि भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्ती १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै म संग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढीजसो फैलिएका ठाउँका विद्यालय बन्द गर्न आग्रह गरेको छ । बढि कोरोना संक्रमण भएको ठाउँमा विद्यालय बन्द गरेर भर्चुअल माध्यमबाट पठनपाठन थाल्न मन्त्रालयले आग्रह गरेको हो । पछिल्लो समय कोभिड १९ संक्रमण बढ्दै गएपछि मन्त्रालयले यस्तो अपिल गरेको हो।
उच्च जोखिम भएका ठाउँमा बन्द गर्नुपर्ने भन्दै मन्त्रालयका प्रवक्ता डा। संगीता कौशल मिश्रले केही दिनदेखि कोभिड बिरामी बढेका छन्,त्यसैले जोखिम भएका ठाउँमा स्मार्ट लकडाउनको अवधारणामा स्थानीय तहले विद्यालय बन्द गर्नुपर्ने बताइन् ।
कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले ‘स्मार्ट लकडाउन’सम्बन्धी कार्यविधि ल्याएको छ। जसमा कोभिडको अवस्थाअनुसार स्थान विशेषलाई विभिन्न चारस्तरमा वर्गीकरण गरी अलग रङबाट अवस्थाको चित्रण गरिने व्यवस्था गरेको छ।
जसअनुसार अति उच्च जोखिमको अवस्था (रेड जोन), उच्च जोखिमको अवस्था (एम्बर जोन), मध्यम जोखिमको अवस्था (एलो जोन) र सामान्य जोखिमको अवस्था (ग्रिन जोन) छ। रेडजोनमा पर्ने जिल्लामा विद्यालय खोल्न नपाइने मन्त्रालयका प्रवक्ता मिश्रले बताइन्।