काठमाडौं – पछिल्लो दिनमा कोरोनाभाइरस संक्रमित बढिरहेका छन् । देशभर पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् ।
सोही अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पीसीआर टेष्टमा औषतमा संक्रमणदर ९.५ प्रतिशत पुगेको छ ।
यस्तै शैक्षिक संस्थाहरुमा हिउँदे बिदा १५ दिनदेखि एक महिनासम्म थप गर्ने तयारी भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले बिदा एक महिना लम्ब्याउने तयारी गरेको हो ।
विद्यालय तथा कलेजहरुमा अहिले जाडो बिदा हुने क्रम सुरु भएको र कोरोना भाइरसको संक्रमण पनि बढ्दो क्रममा देखिएकाले जाडो बिदालाई बढीमा एक महिनासम्म थप गर्ने गरी छलफल भइरहेको हो ।
अहिले केही निर्णय भएको नभएको तर छलफल भने जारी रहेकोभ भन्दै सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले संक्रमण बढ्दै तथ्यलाई मध्यनजर गरेर जाडो बिदा १५ दिनदेखि एक महिनासम्म थप गर्ने विषयमा कुराकानी भइरहेको बताइन् ।
तत्काल पठनपाठन भर्च्युअल गर्ने बारे कुरा नभएको पनि उनले बताइन् । जाडो बिदा लम्ब्याएपछिको अवस्था पनि सुधार नभएमा थप के गर्ने भनेर छलफल हुने सिसिएमसीले जनाएको छ ।