काठमाडौं – नारायणहिटी संग्रहालय परिसरमा बतास समूहले बनाएको भौतिक संरचना बत्काइएको छ । संस्कृती, पर्यटन तथा नागरिक पर्यटनमन्त्री प्रेम आलेको ठाडो निर्देशनमा भौतिक संरचना भत्काइएको हो ।
संग्रहालयभित्र नयाँ संरचना बनाएर कफीशप सञ्चालन गर्न थालिएपछि सामाजिक सञ्जालमा निक्कै आलोचना भयो त तत्कालै मन्त्री आलेको निर्देशनमा संरचना भत्काउन थालिएको हो ।
बतास समूहको नेतृत्व पोखराबाट उदाएका व्यापारी आनन्द बतासले गर्छन्। होटलदेखि गाडी व्यवसायीका रुपमा चिनिएका बतासले यसअघि राजनीतिक पहुँचका आधारमा नारायणहिटीभित्र कफीशप सञ्चालन गर्न अनुमति पाए पनि यतिबेला भने विरोधको स्वर चर्किएको छ ।
बतास समूहले काठमाडौं उपत्यकाका पशुपति धर्मशाला र पाटन दरबार परिसरदेखि काठमाडौंबाहिरका अरु कैयौं ठाउँमासमेत सरकारी तथा सार्वजनिक सम्पत्ति सस्तोमा हात पारेर आफ्नो व्यापार र नाफामुखी गतिविधि सञ्चालन गरिरहेका खबर शृंखलाबद्ध रुपमा सार्वजनिक भइरहेका छन् ।
यस प्रकरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले केही बोलेका छैनन् । उनीसँग बतास समूहका अध्यक्ष आनन्द बतासको कनेक्सन देखिएसँगै उनी अहिले चुपचाप बसिरकेको तथ्य छर्लंग छ । यो समूहको सल्लाहकार नै उनकी श्रीमती डा आरजु राणा देउवा देखिए पनि यो मूलतः देउवासँगकै कनेक्सनका रुपमा देखिन्छ।
बतास स्वयंले नै आफ्नो सम्वन्ध देउवासँग रहेको दाबी गरेका छन्। समूहले आफ्नो सल्लाहाकारमा डा आरजु राणाको नामसमेत उल्लेख गरेको छ। देउवा र बतासको सम्बन्ध अहिलेको मात्र हैन। उनीहरुको सम्बन्ध बतासले पोखरामा होटल व्यवसाय गर्दादेखिकै हो।
उनी गण्डकी क्षेत्रमा नेपाली कांग्रेसको प्रमुख चन्दादाताको रुपमा चिनिदै आएका थिए। व्यापारीको रुपमा एमाले र नेपाली कांग्रेससँग एकै पटक सम्बन्ध राख्न सक्ने खुबी उनको थियो। पहिलो संविधानसभादेखि अन्य प्रतिनिधि सभाको निर्वाचनमा स्वर्गीय रवीन्द्र अधिकारीको प्रमुख ुब्याकअपुका रुपमा उनै बतास देखापर्ने गरेका थिए।
नेकपा एमालेको आन्तरिक बैठकमा समेत एकपटक यो प्रसंग उठेको थियो। नेपाली कांग्रेसनिकट भनेर चिनिएका व्यापारीसँग ‘कमरेड’को हिमचिम भनी टिप्पणी भएको थियो।
२०५७ सालमा पोखरामा भएको नेपाली कांग्रेसको महाधिवेशनमा देउवाले बतासकै होटलमा बसेर स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाविरुद्ध सभापति लडेका थिए। यसैले पनि उनी बतास समूहबारे नबोलेका चर्चा सुरु भएको छ ।