काठमाडौं – गृह मन्त्रालयले सार्वजनिक स्थलमा हुने सबै प्रकारका भेलाहरूमा प्रतिबन्ध लगाउन सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।
आज गृह मन्त्रालयमा बसेको बैठकले ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, अध्यागमन विभाग लगायतलाई पत्राचार गर्दै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले गृह मन्त्रालयअन्तर्गत हुने निर्णयहरू कार्यान्वयन गर्न सर्कुलर जारी गरेको हो ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सीसीएमसीसीले सार्वजननिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनेगरी कुने पनि कार्यक्रम गर्न नदिन गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।
सार्वजनिक स्थलमा प्रवेशका लागि कोभिड खोप लगाएको प्रमाणलाई अनिवार्य गर्न पनि सीसीएमसीसीले सिफारिस गरेको छ । होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइयात्रा सबैमा खोप लगाएको प्रमाण अनिवार्य गरिएको छ ।
त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सिसिएमसीको निर्णय कार्यान्वयन गद्र्रै मन्त्रालयले भोलिबाट माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले बताए ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता शर्माका अनुसार वार्षिक विदामा मिलान गर्नेगरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो । देशभरका विद्यालय बन्द हुने भए पनि विश्वविद्यालयका परीक्षा भने नरोकिने प्रवक्ता शर्माले बताए ।
