काठमाडौं – निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ । आयोगले यहि पौष ३० गते शुक्रबार विहान ११ बैठक आव्हान गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अन्नपूर्ण टाइम्सलाई जानकारी दिए।
उनका अनुसार सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने भएको छ । ‘दलहरुलाई तीनवटा विषयमा छलफल हुन्छ भनेर विषय तोकेर पठाएका छौं, स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुन्छ’ उनले भने ।
बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्रणा गरिएको छ । शर्माले बैठकका मुख्यगरी तीन एजेन्डा भएको बताए ।
उनका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे बैठकमा छलफल हुने छ।
आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन् ।
यसअघि सरकारको तर्फबाट स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न मंगलवार महान्यायाधिवक्ता खम्म खाती निर्वाचन आयोग गएका थिए ।
निर्वाचन सार्न सकिने सम्भावना र कानूनी तथा संवैधानिक प्राबधानका विषयमा सरकारले चासो राखेको बताइन्छ । यद्यपी आयोगले चुनाव वैशाखभित्र गर्नैपर्ने अडान लिएको स्रोतले जनाएको छ ।
सरकारले भने स्थानीय तहको तेस्रो चरणको चुनाव २०७४ असोजमा भएकाले असोजलाई ५ वर्ष मानेर चुनाव गर्न सकिने उपाय खोजेको छ । त्यसो गर्दा स्थानीय चुनाव एक वर्ष धकेलिन सक्छ । आयोगले र नेकपा एमालेले भने वैशाखलाई ५ वर्ष मान्नुपर्ने भनेका छन् । २०७४ को वैशाख र असारमा स्थानीय चुनाव भएको थियो ।
