राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि पार्टी एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यसमितिका मनोनित सदस्यहरुलाई शपथ गराउँदै अध्यक्ष लिङ्देनले पार्टीमा कोही असन्तुष्ट हुनुनपर्ने पनि बताए।
उनले पार्टीका सबैलाई समेटेर अघि बढ्ने आफ्नो चाहना रहेको पनि प्रष्ट पारेका छन्। ‘हाम्रो मुख्य कार्यभार पार्टीको हालै सम्पन्न महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाको सफल कार्यान्वयन हो’, लिङ्देनले भने, ‘सिद्धान्तबाट विचलित भएर लक्ष्य प्राप्ति हुन सक्दैन।’
अध्यक्ष लिङ्देनले पार्टीले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारबिरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरु समेत लिएर अघि बढ्ने बताए।
पार्टीमा मनोनयन सदस्यहरुको परिपूर्ति अहिले नै भइनसकेकोले अबका दिनमा लैङ्गिक, समावेशी र समानुपातिकताका हिसावले गरिने उनको भनाइ छ।
‘हामीले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारबिरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरु समेत लिएर आगामी दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रश्तुत गर्नेछौँ र उभ्याउने छौँ । यो कार्यक्रममा मैले मनोनयन गर्ने कुरामा कुनै पनि पक्षको पक्षपात, विभेद गरेको छैन । हिजो मलाई आन्तरिक प्रतिष्पर्धामा सहयोग गरेको नगरेको कुरालाई आधार बनाएको छैन’ उनले भने।
अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दूराज्य अहिले जनताको बीचमा लोकप्रिय मुद्दा बनेकोले अबका दिनमा यसलाई आफ्नो मूल मुद्दाको रुपमा अघि बढाउने बताए।
लिङ्देनले केन्द्रीय सदस्य मनोनयन गर्दा अनुभवी, पार्टीको लागि आवश्यक, पार्टीमा योगदान दिएका व्यक्तिलाई मनोनयन गरिएको उल्लेख गर्दै मनोनीतको संख्या अझै बाँकी रहेको पनि बताए।
संविधानले व्यवस्था गरेबमोजिमको समानुपातिक समावेशीतालाई पूर्ण पालना गरिने बताएका छन्। अध्यक्ष लिङ्देनले पार्टीको विधान अनुसार केही दिनअघि ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका थिए।
राप्रपाको विधानअनुसार १९९ जनाको कार्यसमिति हुन्छ। त्यसमध्ये १४९ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ। बाँकी ५० जना अध्यक्षले मनोनीत गर्न पाउँछन्।
