काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ। कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री देउवाले दुईपटक कोरोना परीक्षण गराएका थिए।
अघिल्लो रिपोर्ट नेगेटिभ आएपनि उनले फेरि परीक्षण गराएका थिए। उनको दोस्रो रिपोर्ट समेत नेगेटिभ नै आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढिरहेको छ। बिहीबार मात्र नेपालमा ३५५३ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १५ हजार ८१ परीक्षण गर्दा तीन हजार ५५३ सङ्क्रमण पुष्टि भएको हो । परीक्षण गराएकामध्ये २३.६ प्रतिशतलाई सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३४० पुगेको छ ।
पछिल्लो समय थप २७१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १५ हजार ३४७ पुगेको छ । निको हुने दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा एक जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ६१० जनाको निधन भएकोे छ । ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, चितवन मकवानपुर, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।
शून्य सङ्क्रमित भएका जिल्लामा मुगु मात्र छ । नेपालमा सङ्क्रमण दर १६.९ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा १३ हजार ५०३, संस्थागत आइसोलेशनमा ८३७ आइसियूमा ११० र भेन्टिलेटरमा २५ जनाको उपचार हुँदैछ ।
विगत २४ घण्टामा तीन लाख ५६ हजार चार जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ५४ लाख ६४ हजार ३३५ जना र पूर्ण मात्रा एक करोड १६ लाख ९१ हजार ३९३ जनाले लगाइसकेका छन् ।
