काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालको ६ महिना भएपछि सचिवालयलाई पूर्णता दिने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले प्रमुख राजनीतिक सल्लाहकारमा प्रकाशशरण महतलाई नियुक्त गर्ने तयारी गरेका हुन् ।
देउवाको आर्थिक मामिला सल्लाहकारमा अर्थविद डा पोषराज पाण्डेको नाम चर्चामा छ । यस्तै प्रेस सल्लाहकार गेजा शर्मा वाग्ले बन्ने भएका छन्। भने प्रधानमन्त्री देउवाले केही दिनअघि बालुवाटार बोलाएर शर्मालाई प्रेस सल्लाहकारको प्रस्ताव राखेको थिए ।
यस्तै १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित महतलाई देउवाले अब सरकारको कामसँग जोड्न राजनीतिक सल्लाहकार बनाउन लागेको बुझिएको छ ।
शर्मा प्रेस सल्लाहकार बन्ने भएपछि गोविन्द परियारले प्रेस संयोजकका रुपमा काम गर्ने भएका छन् । अघिल्लो कार्यकालमा पनि उनी देउवाको प्रेस संयोजक थिए । यसपटक परियार प्रेस सल्लाहकार भएर काम गर्ने चाहन्थे । यता प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आकांक्षा देखाएका थिए ।
बद्रीलाई प्रेस सल्लाहकार मानेर परियार प्रेस संयोजकमा बस्ने अवस्था नआएपछि शर्मालाई बनाउन लागिएको बालुवाटार स्रोतले रातोपाटीलाई बतायो । अब सिग्देललाई जनसम्पर्क सल्लाहकार बनाउने तयारी गरिएको छ ।
अहिले प्रधानमन्त्रीको फोटोग्राफरका रुपमा रोशन सापकोटाले काम गरिरहेका छन् । राससमा कार्यरत सापकोटाले आगामी दिनमा पनि सोही भूमिकामा काम गर्ने बुझिएको छ । प्रधानमन्त्रीले परराष्ट्र मामिला सल्लाहकार र विकास विज्ञ कसलाई नियुक्त गर्ने भन्ने टुंगो लागेको छैन । यस्तै प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा दिनेश भट्टराईको चर्चा छ ।
यस्तै पूर्व परराष्ट्रमन्त्री महत र विदेश मामिलाका जानकार शर्माबाटै देउवाले परराष्ट्र सल्लाहकारको काम गराउने योजना बनाएका छन् । परराष्ट्र सल्लाहकार हुने इच्छा देखाएका शर्मालाई देउवाले सचिवालयमा हुँदा सबै काम हुने बताएका थिए ।
यसअघि देउवाले प्रमुख स्वकीय सचिवमा देउवाले भानु देउवालाई नियुक्त गरेका थिए भने प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल र स्वास्थ्य सल्लाहकारमा प्राडा आरपी विच्छा नियुक्त गरेका थिए ।