काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको सचिवालयले अनावश्यक भ्रमको पछि नलाग्न आग्रह गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने र नेता सिंहलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिने भनेर सार्वजनिक भएको समाचारमा सत्यता नरहेको नेता सिंहका स्वकीय सचिव यूपी लामिछानेले बताएका छन् ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल र रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएपछि दुई मन्त्रालय मन्त्रीविहीन बनेको छ । सोही मन्त्रालयमा देउवाले नयाँ नियुक्ति गरेर मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका र सिंहलाई उपप्रधानसहित गृह मन्त्रालय बनाउने भन्ने खबर प्रकाशित भएको थियो । केही संचारमाध्यमले अनावश्यक रुपमा भ्रमको खेतीमा लागेको भन्दै लामिछानेले नियोजित प्रचार नगर्नसमेत आग्रह गरेका छन् ।
सार्वजनिक भएको खबर अनुसार सिंह मन्त्री बन्न तयार भए उपप्रधानसहित गृहमन्त्री बनाउने सम्भावना रहेको र वर्तमान गृहमन्त्री बालकृष्ण खाँणलाई रक्षामन्त्रीको जिम्मेवारी दिने सकिने विषयमा पनि देउवाले छलफल थालेको भनिएको थियो ।
यसैबीच प्रधानमन्त्री देउवाले सचिवालयलाई समेत पूर्णता दिने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाको प्रमुख राजनीतिक सल्लाहकारमा प्रकाशशरण महतलाई नियुक्त गर्ने चर्चा रहेको छ। १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित महतलाई देउवाले अब सरकारको कामसँग जोड्न राजनीतिक सल्लाहकार बनाउन लागेको बुझिएको छ ।
आर्थिक मामिला सल्लाहकारमा अर्थविद डा. पोषराज पाण्डेको नाम चर्चामा छ । यस्तै प्रेस सल्लाहकार गेजा शर्मा वाग्ले बन्ने भएका छन् । प्रधानमन्त्री देउवाले केही दिनअघि बालुवाटार बोलाएर शर्मालाई प्रेस सल्लाहकारको प्रस्ताव राखेको थिए । यता प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आकांक्षा देखाएका थिए ।
बद्रीलाई प्रेस सल्लाहकार मानेर परियार प्रेस संयोजकमा बस्ने अवस्था नआएपछि शर्मालाई बनाउन लागिएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीले परराष्ट्र मामिला सल्लाहकार र विकास विज्ञ कसलाई नियुक्त गर्ने भन्ने टुंगो लागेको छैन ।
यस्तै प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. दिनेश भट्टराईको चर्चा छ । तर उनले अहिलेसम्म प्रधानमन्त्रीले आफूसँग कुनै कुराकानी नगरको बताए ।