काठमाडौं – नेकपा एमालेले ६ वटा प्रदेश सम्पर्क कमिटीको नेतृत्व चयन गरेको छ। एमालेले मधेश प्रदेश बाहेक अरु सबै प्रदेश सम्पर्क कमिटीमा नेतृत्व चयन गरेको हो।
जसअनुसार बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा अशोक ठकुरी चयन भएका छन्। प्रदेश १ अध्यक्षमा कपिलदेव ओली, गण्डकीमा ऋषि कँडेल र लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा नारायण पाण्डे चयन भएका छन्।
यस्तै कर्णाली प्रदेश सम्पर्क कमिटीमा जेबी शाही र सुदूरपश्चिम सम्पर्क कमिटीमा दलबहादुर धामी चयन भएको एमालेले जनाएको छ। एमालेले प्रदेश सम्पर्क कमिटीलाई जिल्ला कमिटी सरह मान्यता दिएको छ।
यस्तै संगठन विभाग सदस्यहरूमा भानुभक्त ढकाल, देवराज घिमिरे, कर्ण थापा, यामलाल कँडेल, लीला गिरी, जगत विश्वकर्मा र ज्वाला कुमारी साहलाई मनोनित गरिएको छ।
मंसिर २५ र २६ गतेको बैठकले स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई संगठन विभाग प्रमुख बनाएको थियो।एमालेको विधानमा हरेक विभागमा बढीमा २५ जना सदस्य हुने व्यवस्था छ। अन्य सदस्यहरु आवश्यकता अनुसार थप्न सकिने संगठन विभाग प्रमुख प्रमुख अधिकारीले बताएका छन्।
कोभिड-१९ को महामारी पुनः बढेको सन्दर्भमा नेकपा (एमाले)ले पार्टी र जनसंगठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई आज पत्राचार गर्दै कोभिड-१९ को तेस्रो लहरसम्बन्धी नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर मातहतका पार्टीका कार्यालय सञ्चालन गर्न आग्रह गरेका छन्।
पार्टीका आन्तरिक बैठक, भेला, छलफल जस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाइ आयोजना गर्न र स्थानीय नेता-कार्यकर्ता र जनप्रतिनिधिले महामारीविरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि एमालेले आग्रह गरेको छ।
