राष्ट्रिय सभाको आज निर्वाचन जारी रहेको छ। निर्वाचनमा सत्ता गठबन्धनका ५ दल मिलेर उम्मेदवारी दिएका छन् भने एमाले एक्लै चुनावी मैदानमा होमिएको छ।
निर्वाचन जारी रहेकै बेला नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भने राष्ट्रिय सभाका सबै सिट सत्तारूढ गठबन्धनका उम्मेदवारले जित्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनबाट उठेका उम्मेदवारले जित्ने र यसबाट नयाँ तरंग पैदा हुने बताएका छन्।
‘आज राष्ट्रिय सभा चुनाव भइरहेको छ। गठबन्धनबाट उम्मेदवार छन्। हाम्रो पार्टीकै ५ जना उम्मेदवार हुनुहुन्छ,’ उनले भने, ‘हामीलाई आशा छ- सबै पदमा गठबन्धनले जित्छ र त्यसले तरंग पैदा गर्छ।’
निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि आज निर्वाचन भएको हो ।
उनले स्थानीय तहलगायत चुनाव अब कहिले गर्ने भन्ने अहिले बहसको विषय भएको भन्दै संविधानअनुसार चुनाव हुनुपर्नेमा पार्टीको धारणा रहेको बताए।
राष्ट्रिय सभामा १९ सांसदको आगामी फागुन २० गते पदावधि सकिँदैछ। पदावधि सकिनुअघि नै निर्वाचन हुन लागेको हो।
सातवटा प्रदेशमा गरेर दुई हजार २५ जना मतदाता छन्। चुनावमा पाँच सय ३२ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। रिक्त हुने १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ।
जसका लागि आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ ।
