नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै कारवाहीको मागसहित जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ । सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्न माग गर्दै आइतबार उजुरी दिएका हुन् ।
उजुरीकर्ताले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफु कोभिड संक्रमित हुँदाहुँदै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रमम सहभागी भइ हुलहुज्जत गरी आफुलाई सामान्य संक्रमण मात्र भएको भाषण गरेको उल्लेख गरेका छन् ।
‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार संप्रेशण भएका छन् । उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौ’, निवेदकले खुलाएका छन् ।
२०७८ साल माघ १२ गते ओली आफू कोरोना संक्रमित हुँदाहुँदै एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको बालकोटस्थित रक्तदान कार्यक्रममा सहभागी भएर संक्रमण फैलाएको आरोप उनीहरुको छ।
निवेदनमा भनिएको छ, ‘यसरी आफू कोरोना संक्रमित भइ जानीजानी सार्वजनिक स्थलमा गइ अन्य व्यक्तिहरुसँग सम्पर्कमा आइ कोरोना संक्रमण फैलाउने कार्य गरी संक्रामक रोग ऐन, २०२० विपरीत कार्य गरेकाले निज ओलीलाई कानुनबमोजिम आवश्यक कारबाही गरीपाएऊँ।’
ओलीको उक्त उपस्थिति र भाषणले समाजमा कोरोना संक्रमण फैलाउनुका साथसाथै आम जनमानसमा कोरोनाको कहर सामान्य रुघा खोकी मात्र भएको भ्रमसमेत सिर्जना हुनसक्ने भएकोले उनलाई कारबाही नभएमा अरु कोरोना संक्रमितहरुले समेत मापदण्डको पालना नगर्ने दाबी गरिएको छ।
त्यसकारण विधिको शासनलाई अनुशरण गर्दै संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिम यथाशीघ्र कारबाही गर्न माग गरिएको छ।

