काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित नगरे गठबन्धन तोड्ने निर्णयमा पुगेका छन् ।
प्रतिनिधिसभाको चालु अधिवेशनबाटै एमसीसी पास गर्नैपर्ने बाध्यतामा आफू रहेको निष्कर्षसहित उनले एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिएका छन् ।
शनिबार साँझ सत्तारुढ पाँच दलको बैठक राखेर स्थानीय निर्वाचनमा जेठमा गर्ने सहमति जुटाएका देउवाले लगतै एमसीसीबारे छलफल गरेका थिए । बालुवाटारमा भएको छलफलमा राष्ट्रिय जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरु र कार्यदलका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की थिए ।
बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले १ फेब्रुअरीसम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने बताए ।
एमसीसी अध्ययन कार्यदलमा समेत रहेका एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने, ‘त्यसभित्र तिमीहरुले गर्यौ भने गर्यौ, नभए हामी फिर्ता लान्छौं भन्याछन् भनेर प्रधानमन्त्रीले भन्नुभएको थियो ।’
बैठकमा शीर्ष नेताहरुबीच केहीबेर चर्काचर्की नै भएको थियो । हिजोको घम्साघम्सी देख्दा त एमसीसीकै कारण गठबन्धन नै टुट्छ कि जस्तो देखिएको एक सहभागीले बताए ।
उनले एमसीसी पास गर्नैपर्ने भएकाले सहयोग गर्न अरु दलका नेताहरुसँग आग्रह गरे । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु त्यसमा सहमत भएनन् । कार्यदलमा रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताए ।
जवाफमा प्रधानमन्त्री देउवाले संसदमा प्रस्ताव पेश गर्ने अडान मात्रै लिएनन्, तपाईंहरुलाई मन लागे भोट हाल्नुस्, मन नलागे नहाल्नुस् भनेका छन् । ‘प्रधानमन्त्रीज्यू अलिकति दबावमा देखिनुहुन्थ्यो, उहाँले एमसीसी यही अधिवेशनबाट पारित गर्नुपर्छ नत्र भने गठबन्धन टुट्छ भन्नुभयो,’ अर्का एक शीर्ष नेताले भने, ‘हामीले पनि एमसीसीमा एमाले अध्यक्ष ओलीसित मिल्नु छ भने मिल्नुस्, पास गर्नुस् । त्यसरी जालझेल गरेर गठबन्धन जोगाउनु पनि छैन भन्यौं ।’
गठबन्धन नै संकटमा पर्ने देखेपछि माओवादी र एकीकृत समाजवादीका नेताहरुले सभामुखमार्फत १० दिन संसद बैठक स्थगित गराएका छन् । माघ १६ गते बोलाइएको प्रतिनिधिसभाको बैठक संघीय संसद सचिवालयले शनिबार साँझ नै सूचना जारी गरेर १० दिन स्थगित गरेको थियो ।
यही अवस्थामा एमसीसी अनुमोदन नहुने पनि भन्दै एकीकृत समाजवादीका नेता खनालले एमसीसीमा यत्राविधि आपत्तिजनक रहेको नसच्चिएसम्म अनुमोदन नहुँने बताए ।
बालुुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले गठबन्धन टुट्दा आउँदै गरेको चुनावमा आफैंलाई घाटा पर्ने सम्भावना देखेका छन्, त्यसले एमसीसी पनि अनुमोदन गराउने र स्थानीय निर्वाचनसम्म गठबन्धन पनि जोगाएर जाने पक्षमा छन् ।
