काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार भएको भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको जनाएको छ।
सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस हुँदै आएको छ । प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट पारित गराउन पहल थालेका छन् ।
प्रधानमन्त्री र माओवादी अध्यक्षबीच स्थानीय तहको निर्वाचनको मिति तथा एमसीसीलगायतका विषयमा छलफल भएको बताइएको छ । सत्ता गठबन्धनलाई एमसीसीको कारण कुनै खतरा नरहेको दुवै पक्षले बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा छन् । यसै विषयमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्शसमेत गरेका छन् ।
यसअघि प्रधानमन्त्री देउवा, प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एमसीसी पारित गर्ने सहमति भइसकेको छ । तर, त्यसका लागि प्रचण्ड र माधव नेपालले १० दिनको समय मागेको पौडेलनिकट स्रोतले जनाएको छ ।
यस्तै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अघि बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्णायक पहलमा जुटेका छन् । अनुमोदन गर्ने वा नगर्ने जिम्मेवारी संसद्को नै भएको भन्दै उनले प्रक्रिया भने अविलम्ब अघि बढाउन अग्रसरता लिएका छन् ।
स्थानीय तहको निर्वाचनको विषयमा एक ठाउँमा उभिएको सत्ता गठबन्धनभित्र एमसीसी सम्झौताबारे फरक मत छ । यो विषयमा पछिल्ला दिनमा सघन छलफल भए पनि टुंगो लागेको छैन । साझा धारणा बनाउने विषयमा पहल गर्न सकिने भन्दै वाम दलहरूको प्रस्ताव र प्रधानमन्त्रीको समेत सहमतिमा प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको छ ।
सरकारी स्रोतका अनुसार प्रधानमन्त्री देउवाले फेब्रुअरी २८ (फागुन मध्य) सम्म एमसीसीबारे संसद्बाट निर्णय लिने जानकारी अमेरिकी अधिकारीलाई दिएका छन् । ‘सकेसम्म गठबन्धनकै पहलमा एमसीसी पास गरौं, होइन भने संसदीय प्रक्रिया सुरु गरौं, संसद्ले आवश्यक निर्णय गर्छ,’ सहयात्री नेताहरूलाई प्रधानमन्त्री देउवाको प्रस्ताव छ ।
