काठमाडौं – नेविसंघलगायतका पार्टीका भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
नेविसंघलगायतका भ्रातृ संस्थाको समस्या समाधान गरेर जाने विषयमा कसरत भइरहेको उनले बताए । यसबारे अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढी जोड दिएको पनि महामन्त्री शर्माले बताए ।
नेविसंघका विद्यार्थी नेतासँग कुरा गर्दै उनले भ्रातृ संस्थामा देखिएको समस्या समाधानका लागि प्रक्रियासमेत अघि बढाइएको बताए ।
उनले मुलुकको लोकतान्त्रीकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसंघजस्ता संगठन बलियो हुनुपर्नेमा आफूहरू सचेत रहेको पनि बताए ।
मान्छेलाई लोकतान्त्रीकरण बनाउन सकियो भने नेपालको डेभलपमेन्टको प्रोसेसलाई बल पुग्ने र, त्यसका लागि नेविसंघ नमुना संगठन बन्नुपर्ने उनले बताए । आफू बोलेरभन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा पनि धेरै बोल्नै पक्षमा नरहेको महामन्त्री शर्माले बताए ।
उनले आफूहरू पार्टीको पदाधिकारीमा आएपछि पार्टीभित्र देखिएको समस्यालाई प्रक्रियामा लगेर समाधान गर्न लागि परेको बताए । त्यस अवसरमा नेविसंघको महाधिवेशन छिटो सम्पन्न गराउन पहल गरिदिन विद्यार्थी नेताले महामन्त्री शर्मासँग आग्रह गरेका थिए ।
