काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग भेट्ने भएका छन्। स्थानीय तहको निर्वाचनको मितिका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई बोलाएका हुन्। दिउँसो ३ बजे प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच बालुवाटारमा छलफल हुने भएको छ।
जेठमा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति बनेपछि देउवाले मितिका सन्दर्भमा छलफल गर्न आयोगका पदाधिकारी डाकेका हुन्। जेठको पहिलो साता एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सोंचमा देउवा छन्।
आयोगले यसअघि सरकारलाई वैशाख १४ को मिति प्रस्ताव गरेको थियो। दुई चरणमा निर्वाचन गर्ने भएमा वैशाख १४ र २२ मा गर्न सकिने आयोगले सुझाएको थियो।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्ने बताएका छन् । २०७४ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल आउँदो जेठ ५ गते सकिदै छ । त्यसको एक दिनअघि चुनाव गर्ने गरी औपचारिक रुपमा मिति घोषणा हुने औपचारिक जानकारी गराएका हुन् ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न बागमति प्रदेशका सभापति इन्द्र बानियाँसहित बालुवाटार गएका कांग्रेस नेताहरुसँगको कुराकानीका क्रममा उनले जेठ ४ गतेका लागि चुनावको मिति केही दिनमै घोषणा हुने बताएका हुन्।
बानियाँले सभपातिसँग चुनाव कहिले हुन्छ भनेर सोधेका थिए। जवाफमा प्रधानमन्त्री देउवाले चुनाव जेठ ४ गते हुने र केही दिनमै मिति घोषणा गर्ने बताए ।प्रधानमन्त्रीले जेठ ४ गते चुनाव हुने बताएको भेटमा सहभागी कांग्रेस पूर्वकेन्द्रीय सदस्य किरण गिरीले बताए ।
केही दिनअघि बसेको सत्ता गठबन्धनको बैठकले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको थियो ।
शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको थियो ।
अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ । बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।
