काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न मातहत कमिटीलाई निर्देशन दिएको छ।
बुधबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले पार्टी पंतिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको हो। सचिवालय बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचन पछि गर्ने निर्णय गरेको छ। जिल्ला अधिवेशनहरू भने स्थानीय तहको निर्वाचन अघि नै गर्ने निर्णय गरेको छ।
बैठकले स्थानीय निर्वाचनमा केन्द्रित भइ केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। यस्तै, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ।
यस्तै एमालेले स्थानीय तहको निर्वाचन घोषणाका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ ।
बुधबार बसेको एमाले सचिवालयको बैठकले संविधान र कानुनअनुसार तत्काल स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्नेमा जोड दिएको छ । बैठकले चुनाव घोषणाका लागि दबावमुलक कार्यक्रम गर्न काठमाडौंमा केन्द्रीय कार्यालयको व्यवस्थापनमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले निर्णय राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानविन गर्न कारवाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको छ । त्यस्तै पार्टी सदस्यतासम्बन्धी केन्द्रमा अभिलेख राख्न प्रत्येक जिल्लामा आइटी विज्ञ राख्ने एमालेले जनाएको छ ।
यस्तै महिला, युवा, विद्यार्थी र किसान महासंघ बाहेकका अन्य जन संगठनको महाधिवेशन प्रक्रिया अघि बढाउने एमाले सचिवालय बैठकले निर्णय गरेको छ । बैठकले पार्टीको नियमावली, जन संगठनको निर्देशिका पारित गर्नुका साथै सहकारी र स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको नेता गुरुङले बैठकपछि जानकारी दिए ।
उनले प्रचार विभाग र स्कुल विभाग पनि गठन गरेको भन्दै चैत महिनाभित्र पार्टी सदस्यता वितरण र नवीकरण गरिसक्ने निर्णय गरेको जानकारी दिए ।
