काठमाडौं – सर्वदलीय बैठक जारी रहेको बेला जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बाहिरिएका छन्। सिंहदरबारस्थित संसद् सचिवालयको अर्थ समितिको हलमा बैठक जारी छ। तर, यादव भने बैठकको बीचबाटै बाहिरिएका छन्।
उनले बैठकमा एमसीसीबारे केही धारणा नराखेको छोटो प्रतिक्रिया दिए। ‘एमसीसीबारे केही धारणा राखिनँ। सबै समस्याको समाधान राष्ट्रिय सहमतिबाट खोजौं भनेको छु’, बैठकबाट बाहिरिने क्रममा यादवले भने।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव, संसद्को अवरोध लगायतका विषयमा छलफल गर्न सभामुखले बैठक आह्वान गरेका थिए। तर, बैठकमा भने प्रमुख प्रतिपक्ष नेकपा एमाले अनुपस्थित छ।
बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेल, नेमकिपाका सांसद प्रेम सुवाल, कानुनमन्त्री दिलेन्द्रप्रसा बडूलगायत सहभागी छन्।
आइतबार सत्तारुढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग दर्ता गरेका थिए।
