काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त ३ अतिरिक्त महानिरीक्षक एआईजीमा ३ जनाको नाम सिफारिस गरेको छ ।
मन्त्रालयले रिक्त रहेको पदमा डीआईजी तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पालको बढुवा सिफारिस गरेको हो ।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले प्रहरी नायब निरीक्षक डीआईजी लम्साल, क्षेत्री र पाललाई एआईजीमा सिफारिस गरेको हो । यी मध्ये लम्साल प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीका ब्याची हुनुहुन्छ । लम्सालले आगामी असार २५ गतेबाट अवकाश पाउँदैछन् ।
थापा र पाल २०४९ सालमा सेवा प्रवेश गर्नुभएको थियो । गत माघ २८ गते प्रहरी महानिरीक्षकहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्नेतले अवकाश पाएपछि रिक्त स्थानमा ३ जनालाई सिफारिस गरिएको हो । त्यसपछि थापा र पालमध्येबाट प्रहरी महानिरीक्षक चयन हुनुहुनेछ् । एआईजीको बढुवा दौडमा तीन जना बाहेक नीरज शाही, प्रधुम्नकुमार कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेल प्रतिस्पर्धामा रहेका थिए ।