– जगन्नाथ शर्मा
सन्तमायालाई आफ्नो २ बर्षीय छोरासंग यसअघि कहिल्यै रिसाउनु परेको थिएन । लकडाउनले बन्दाबन्दीमा बस्दा असाध्यै रिस उठ्यो । देख्यो कि निमोठेर फालिदिउँ जस्तो झोँक चलेर आयो । त्यहि छोरा काखमा आउदा पहिले चाट्यौं चाट्यो लाग्थ्यो । खुब प्यार गर्थिन उनी । चुम्बन खानु र माया गर्नुको हिसाबै थिएन ।
‘यो अलच्छिनी त मरे पनि हुन्थ्यो ’ सदाझैं आमाको काखमा लुट्पुटिन आएको मानवहादुरलाई धारे हात लगाउदै सन्तमाया झर्किने गर्छिन् । काखमै आएपनि चुप लागेर बस्नु नि ! अलच्छिनिया कहिँको । खाली यहिँ सुकेको दुध खोज्छ । आजभोली मानवहादुरलाई दुध चुसाउन पनि उनलाई दिक्क लागेर आउछ । कति दिनु ? खाली दुध खान खोज्छ मोरो । सन्तमाया आफ्ना झोल्लिएका स्तन चोलोबाट निकाल्दै झर्किन्छिन – अहिलेसम्म त अलिअलि भएपनि चुस्दैछस् अबका दिनमा के चुस्लास ? यो पनि त त्यसै आउने होईन क्यार । खाएको केहि छैन ।
सन्तमायासंग भएको त्यति स्तन छ, कलिलो छोरालाई दिने । माग्छ, दिन्छे । अरु के नै छ र ? मान्छेलाई पिडा भएपछि रिस उठ्ने हो रहेछ क्यारे ? सन्तमाया सम्झन्छिन । यसअघि मलाई यस्तो कहिल्यै भएको थिएन । केहि पिडाको महशुस गर्नु परेको थिएन । पसिना पोखेर भएपनि कमाएको पैसाले मन लागेको कुरा खान पाइएकै थियो । छोरालाई सेरेलेक्स र दुध जुटाएकी थिइन । श्रीमानले चुरोट खान्छु भनेर पैसा माग्दा पनि सन्तमाया झिकेर दिन्थिन । कुनै रिस नगरी ।
अब ति दिन छैनन् । सन्तमायाको भण्डारमा अन्न छैन । तागतिलो कुरा त परको कुरा । कताको सेरेलेक्स, दुध र चुरोट हुनु ? किन्ने पैसा छैन । कमाएको भए पो हुनु ? थैलीमा भएको खर्च गरिन । बजारमा उधारो दिउन्जेल ल्याईन । राहतको पोको बोकेर आएकाले उनको नाममा अलिकति भए पनि अन्न दिए । खिस्स हाँसेर फोटो खिच्दा उनीहरुसगैं उभिंइदिइन र त्यो पनि राखिन । सकियो अब सबैं ।
काखे मानवहादुरलाई के थाहा ? आमासंग खानेकुरा र पैसा छैन् भन्ने कुरा । त्यहि भएर त उसले आफ्नो बालहठ छोडीरहेको छैन । दुध आएपनि नआएपनि घरीघरी आमाको स्तनमा झुण्डिदिन्छ । दुध नआउदा मानवहादुरलाई पनि त रिस उठ्दो हो , झम्का मार्छ । कहिले काँहि किटीक्क टोकिदिन्छ । सन्तमाया मुर्छा पर्छिन र मानवहादुरको थुतुनु दुधको मुन्टोबाट छुटाउँछिन् । मार्छ क्यार बजियाले ! मानवहादुरलाई गुन्द्रीमा फाल्दै सन्तमाया चोलीमा स्तन लुकाउछिन् र पिडाको लामो सास तान्छिन् ।
कोरोना भाइरसको त्रासमा सरकारले सबै रोजीरोटी बन्द गरिदियो । काम लगाउने मालिकहरुले आफ्ना उद्योग बन्द गरे । कोरोना सार्लान् भनेर एक अर्का बीचको दुरी कायम गर्ने बाहनामा सबैलाई घरमा राखियो । बन्दाबन्दीमा सन्तमाया पनि थक्किईन । साथै उनका श्रीमान पनि । मनहरा खोलाको बालुवा छानेर लोकन्थलीका निर्माणाधीन घरमा घोप्याउने श्रीमानको नाम्लो थाप्लोबाट छुटेको ३ साता भयो । भादगांउको साग टुकुचामा पु¥याएर फिँजाउने सन्तमायाको डोको पनि उहि बेलादेखि घोप्टीएकै छ ।
लकडाउन खुल्ला र कमाउला भनेर उनीहरुले लामो प्रतिक्षा गरें । घरी समाचार सुनें । घरी वरीपरीका छिमेकीलाई सोधें । केहि उत्तर पाएनन् । अब बाँचिदैन क्यार ? धिक्कार छ, यो जुनिलाई । गरीव भएर बाँच्नु नपरोस् । सन्तमाया खाली यस्तै कुरामा सुस्केरा हाल्दै दिनदिनै कराईरहेकी थिइन् । एक दिन बिताउन उनीहरुलाई महिनौ बिताएको जस्तो भइसकेको थियो ।
तीन साता जसो तसो काठमाण्डौंको बन्द कोठामा थलिएपछि पैदल हिडेरै उनीहरु घर जान निस्कीए । सडकमा निस्कने बित्तिकै सन्तमायाका श्रीमानको पिँडुलमा प्रहरीको लाठि प¥यो । सन्तमायालाई पनि लाठि उठेको थियो । मानवहादुर अघिसारिदिईन् – लु यसैैमाथि बजार तिम्रो लौरो ! प्रहरी अकमक्क भयो र उज्याएको लौरो तल झा¥यो । कसरी कुट्नु त्यो अबोधलाई ? छोडिदियो । भोको पेटमा कसैले दियो भने फुको चाउचाउ र चिउरा चपाएर चौतारामा ढुंगाको सिरानी हाल्दै भोको मानवहादुरलाई फुस्राचौरको घ सम्म पु¥याएकी छिन् सन्तमायाले । मायाको पोको मानवहादुर घरमा पुगेपछि बाख्राको मनेसंग खेल्न थालेको छ । भकारीको खोले पिठो खाएको छ अचेल । पेट पुटक्क अघाँउछ क्यार ! अचेल सन्तमायाका स्तनले पनि धेरै सुख्ख पाएका छन् । बुढा हजुरबा हजुरआमाले सकि नसकी पालेको मालिगाईको बुबुमै रमाएको छ, मानवहादुर ।
काठमाडौंको त्यो कहालिलाग्दो कालो कोठाबाट गाउँको घर आएपछि सन्तमायालाई रिस उठेको छैन् । अनि कम्तिमा भोकले मरिदैन भन्ने लागेको छ उनीलाई । भएको जग्गाजमिनमा कोदालो बजार्दा पनि खान पुग्छ । त्यसमाथि गाउं काठमाण्डौं जस्तो पापी छैन । काठमाडौंमा जस्तो कोहि एकलकाटे पनि छैनन् । वरपर सरसापट चल्छ । उधारोमा अन्न बेसाउन पाईन्छ । व्याज तिर्छु भन्दा पैसा पनि पत्याउने मान्छे गाउंमा छन् । काठमाडौं ती सबै कुरामा बैरी थियो । न सरसापट, न अन्न अैंचोपैंचो र पैसा । केहि चल्दैनथ्यो । त्यस्तो बैरी काठमाडौंमा कोहि नबसुन जस्तो लाग्छ, कहिले काँहि त ।
गाउँ आएपनि सन्तमायालाई कोरोनाको त्रासले भने तर्साउन छोडेको छैन् । नौलो कोहि देख्नै हुदैन । को कहाँबाट आएको हो ? भन्ने चिन्ता लाग्छ । गाउंफर्केपछि उनका श्रीमानको दैनिकी गाउँका बुढापाकासंग साईटिङ्ग खेल्नमा बेस्त छन् । जिब्रोको थुक हातमा लगाएर पुरानो ल्यास्ल्यास परेको तासको पत्ति खेलेको देख्ने सन्तमायालाई न बुढाले पो कोरोना ल्याउने हो कि भन्ने पिरलो नलागेको हैन । तर के गर्नु ? उनको कुरा श्रीमानले सुने पो ! पिटिक्कै मान्दैनन् । घरमा पनि कसरी अडिउन । उनी सम्झन्छिन् ।
राति सुतेको बेलामा ऐठन हुन्छ । कोरोना लिएर गाउंमा कोहि आउछ र सन्तमायाको नजिकै हाछ्यु गर्दिन्छ । सन्तमाया जुरुक्क उठछिन् , मुटुको चाल ढककढी बाहिरै सुनिने गरी बढ्छ । लामो सास तान्छिन् । मानवहादुर तिर पुलुक्क आँखा लगाउछिन् । मस्त निदाएको छ भुन्टे । उनलाई असिम आनन्द आउछ । साच्चैं भन्दा काठमाण्डौंमा मानवहादुरले यस्तो मिठो निन्द्रा पाउदैनथ्यो । कोरोनाको ख्याल नगरी साईटिङ्गमा झुम्मिने श्रीमान पनि घुरेकै छन् । घाँटी छाम्छिन्, केहि असजिलो छैन, निधारमा हात लगाउछिन् तातो पनि छैन । धिक्कार छ यो सपनिलाई पनि, बेलाबेलामा ऐठन बनाउने यो किरोलाई । बेकारमा हामी जस्तो गरिवलाई झन रसातलमा भसाउने त्यो अपराधी भाइरसलाई ।
डिसहोमको सुविधाले दुर्गम गाउंमा टेलिभिजन हेर्ने सुविधा छ । सन्तमायाको घर नजिकैको घरमा टिभी छ । उनी कहिलेकाँहि कोरोनाको बारेमा जानकारी लिन त्यहि टिभी भएको घरमा पुग्छिन् । कहिले सकिएला यो लकडाउन ? उनी त्यहि बुझ्न चाहन्छिन । लकडाउन सकियो भने उनलाई फेरी त्यहि बैरी काठमाण्डौं खाल्डोमा पस्नुछ । भादगाउँको साग टुकुचामा लगेर बेच्नुछ । मानवहादुरलाई बोर्डिङ्ग स्कुलमा पढाउने सपना छ । आउने साल मानवहादुरलाई स्कुल हाल्नुछ । श्रीमानलाई पनि मनोहरा खोलाको बालुवाले पर्खि बसेको छ ।