सुरु भयो दशैं, आज घटस्थापना

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ। दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजाकोठा वा दशैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ।

जमरामा जौँबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन। कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौँसित रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ।

घटस्थापनाको साइत ९:१६ बजे

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ।

आज घटस्थापनाको साइत बिहान ९:१६ बजे रहेको समितिले जनाएको छ। सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले रासलाई जानकारी दिए।

दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजाआराधना गर्ने वैदिककालदेखिको परम्परा छ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ।

नौ दिन नौ दुर्गाको पूजा

यस क्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिएको छ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ। दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविदको भनाइ छ। दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ।

दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ। यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ। दशैंको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन्।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरूको पाठ पारायण पनि गर्ने गरिन्छ। यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गर्छ।

विजयादशमीको साइत असोज २६ गते ११:३६ बजे

नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ। तिथिको घटबढका कारण यस्तो परेकाले सोहीअनुसार खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताए।

आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ।

असोज २६ गते देवी विसर्जनको साइत बिहान ८:३३ बजे रहेको समितिले जनाएको छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११:३६ बजेको उत्तम छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ।

पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ। यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ। आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ।

सिफारिस

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय नेपाली...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी र सिमसार क्षेत्रमा भ्यागुताको आवाज गुञ्जिन थालेको छ। धान रोपाइँको तयारी भइरहेका बेला खेतका आलि...

भर्खरै

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

धेरै पढिएको