टीकाप्रसाद भट्ट
– पछिल्ला केहि बर्षहरुमा विकासको क्रम उच्च हुदै गएको छ । दुर्गम गाउँमा सुविधा सम्पन्न र उच्च शिक्षा हासिल गर्ने विद्यालयदेखि सडकसम्मको पहुँचमा सर्वसाधारण पुगेका छन् । लामो दुरीका लागि थाप्लोमा नाम्लो प्रायको पर्दैन । विश्वमा भइरहेका गतिविधि बुझ्न र हालखबर सोधखोज गर्नका लागि हात हातमा मोवाईल र घर-घरमा टेलिभिजन झुण्डिएको छ ।
राजनीतिक परिवर्तनपछि धेरै नेताहरुले प्राय यसैलाई विकासको कुरामा लिएर आमसभामा सर्वसाधारण भुलाउछन् । झट्ट हेर्दा विकास भनेको यहि हो कि जस्तो पनि नलाग्ने होईन ।
नुन लिन भोट छिर्ने हामीभन्दा अघिल्लो पुस्ताका लागि ढाकर र टोक्मा छुटेको विषयले असिम आनन्द पक्कै मिल्छ । कहिँँ कतै गयो भने फर्केर नआउदा या महिनौं दिनमा हुलाक मार्फत पुग्ने पत्रको भर पर्ने गरेका हामी छिनछिनमा परिवारसंग कुरा मात्र हैन, भिडियो हेरेर कुरा गर्ने भएका छौं । महिनौं पैदल हिडेर हरिद्धार केदारनाथको दर्शन गरेका हामी कथंकदाचित पैदल हिड्नुपर्दा सरकारलाई धिर्कार्ने भएका छौं । अझ भनौं राष्ट्रिय अखबारमा पैदल हिड्यो हैं भन्नेसम्मको समाचारको पात्र भइरहेका छौं । नुन गाउंमै पुग्छ । बेसाउनु परे गाउँमै बेसाहा पाईन्छ । काम गाउँमा नपाईएको हैन, नगरेर धेरै युवा विदेशीएका छन् । विदेश गएकाको परिवारले पनि गाउँ छोडेको छ ।
हामीलाई लाग्छ, विकास अग्घोर भएको छ । तर हैन । हामी धेरै पछि छौँं । अघिल्लो पुस्ताले गरेको काम पछिल्लो पुस्ताले गर्नु परेन भन्दैमा हामीले विकास मानि हाल्नुहुदैन । अहिले भएको विकास हेर्दा विकासको अवधारणाले आएको विकास भनि हाल्न मिल्दैन जस्तो लाग्छ । यो त समयसगैं आउने विकासको चरण हो । नगर्दा पनि जानी नजानी गर्नु पर्ने काम गर्दा हामीले यति गरेका हौं ।
राणाले केहि गरेनन भन्न मिल्दैन । त्यस बेलाको पैसा र देशको अर्थतन्त्रको आधारमा राणाले धेरै गरेका हुन् । काठमाण्डौं सहरका ठुला र आधुनिक भवन दिर्घकालीन विकासका सोंच हुन् । टुंडिखेल राख्नेदेखि चौडा ठाउँ राख्ने राणाले भिमफेदिबाट मोटर बोकाएर भएपनि काठमाण्डौंमा चौडा सडकमा गुडाए । जलविद्युत योजनाको काम त्यहि थालेका थिए । होे, जन्मने वित्तिकै राणालाई जर्नेल भन्नु पर्दथ्यो । पढ्ने लेख्ने स्कुलहरु थिएनन् । शासन गलत थियो । विकासका मामिलामा उनीहरुको सोँच दिर्घकालीन थियो भन्न मिल्छ यतिखेर आएर हेर्दा । भलै सामन्ति संस्कार थियो र अधिकांश विकासका काम उनिहरुको परिवारका लागि थियो होला ।
पञ्चायती व्यवस्थाको हामीले तिव्र विरोध गर्यौं । राजा र सिमित पञ्चको शासनले पनि मुलुलकमा विकास गरेन भन्ने आरोप लगायौं । तर फर्केर हेर्दा पञ्चायतले ३० बर्षमा मुलुकमा धेरै दिघकालिन विकास गरेको थियो । राजमार्ग र सहायक मार्गहरु खुलेका थिए । जलविद्युत आयोजना, हवाई अड्डा, आधुनिक र उच्च शिक्षा हासिल गर्ने विद्यालय, खानेपानीको प्रवन्ध , देशका लागि अत्यावश्यक सामाग्री उत्पादन गर्ने र आत्म निर्भर हुने दर्जनौ उद्योग धन्दाहरु पञ्चायतले दिएर गयो । अहिले पनि हामी धेरै पञ्चायतको विकासमा रमाईरहेका छौं । त्यो व्यवस्थामा बनेका उद्योग धन्दा र कलकारखानाहरुलाई बरु हामीले सक्ने काम गरेका छौं । थप्ने हैन । यसो भन्दैमा फेरी पञ्चायत व्यवस्था ठिक हो भन्न खोजेको हैन । व्यवस्था साँघुरो थियो । खुल्ला थिएन । विचार फरक राख्नेलाई थुनिन्थ्यो । जेलमा सडाइन्थ्यो । झुट्टा मुद्धा लगाउने व्यापक थियो । राजा र पञ्चको विरोध गर्नेहरुको दिन सकिए भन्न सकिन्थ्यो । विकासको कुरामा भने राणा भन्दा एककदम अघि पञ्चायत थियो भन्न खुलेरै सकिने अवस्था हो । फेरी मेरो तर्क भन्छ, पञ्चायतले पनि समय अनुसारको विकास गरेको हो । विकास नभन्दै नभन्दै विकास भएको हो ।
पञ्चायत उखेले पछि हामीले बहुदलिय व्यवस्था स्थापना गरका हौं । विचारमा जति स्वतन्त्र भयौं । हामी विकासका कुरामा पछि परेका अवश्य छौं । वहुदलियदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रासम्म आउदा नेपालमा अभुतपूर्व विकास भएको कुरा हामी उचाल्लिई उचाल्लिइ गर्छौं ।
जलविद्युत क्षेत्रमा भनौं या सडकमा । विद्यालयमा भनौं या संचारमा । खुला आर्थिक नितीको कुरा गरौं या खुला आकाश निति । यी सवै कुरा हामीले नारा बनाउन थालेका छौं । हाम्रो नारामा दम के छ भने गाउंमा केहि न केहि पुगेको छ । तर यो दिर्घ सोंचको विकास भन्दा अलि फरक छ । तत्कालका लागि आवश्यक पर्ने विकासका हामीले जोड दिएका छौं र त्यसैको रमाइलो मनाइरहेका छौं ।
पञ्चायत ढालेको ३० बर्ष भयो । अर्थात यो पञ्चहरुले गरेको कुल शासन अवधि हो । त्यसमा भएका दिर्घकालिन पूर्वाधार र अहिलेको पूर्वाधारलाई भिडाएर हेरौं । पञ्चायतले मागेर वनाएको संसदमा उभिएर आँखा चिम्लिएर भन्नुपर्दा हामीले दिर्घकालिन विकासको कुरामा त्यति ध्यान दिएनौं । दिने सुरमा पनि छैनौं । दिएको भए अहिले कोरोनाका कारण रोजगारी गुमाएर विदेशबाट फर्केका युवाहरुलाई हामीले स्वदेशमै काम दिन सक्नुपर्ने अवस्था हुन्थ्यो । हामीकाँहा देशको आवश्यकतालाई धान्ने खालका ठुला उद्योग व्यवसाय र कलकारखाना हुन्थे भने रोजगारीको समस्या देखिने थिएन । अहिले विदेशी रेमिट्यान्सलाई राष्ट्रिय आयको रुपमा लिने बाध्यतामा रहेका हामीले उद्योग व्यवसायले तिर्ने करबाट राज्यलाई आत्मनिर्भर वनाउन सक्थ्यौं । तर गरेनौं र गर्ने योजनामा पनि छैनौं । त्यो चासोको विषय कसैको पर्दैन । बरु भएका उद्योगमा केहि मेसो मिलाउन सकिन्छ कि भन्ने ध्याउन्न हाम्रो छ, नेतृत्वको छ ।
हो, हामीले दुर्गम गाउँसम्म पुग्ने बाटो बनायौं । डोजरले प्रकृतिलाई छिन्न भिन्न बनाउने गरेर काट्यौं । बन जंगल सक्यौं र जताततै पहिरो जाने गरी माटो बगायौं । नुन र चामल गाउँसम्मै पु¥याउदा मख्ख भयौं । तर त्यहि विकासको दिगो संचालन लागि कहिल्यै चर्चा गरेनौं । हरेक बर्ष त्यहि बाटो खन्ने या सुधार गर्ने नाममा उपभोक्ता या कमाउने राजनीतिक गरी रह्यौं । हाम्रा मान्छे र उस्को मान्छे भनेर व्यवहार गरी रहेका छौं । दलिय आँखाले हेर्ने र व्यवहार गर्ने हाम्रो शैली राणा र पञ्चायतको भन्दा पनि तुच्छ र आलोच्य छ । तर पनि हामी गरी रहेका छौं ।
पञ्चायत ढालेको ३० बर्ष पुग्दा हामीसंग संसदको आफ्नै भवन छैन । ठुलो जहाज आउदा हामीले पार्किंग गर्ने थलो पाउदैनौं । दोश्रो ठुलो विमानस्थल संचालनमा ल्याउन सकेका छैनौं । ठुला भनाउदा राजमार्गको व्यवस्थापनमा हामीले चासो दिएका छैनौं । पूर्वाधारको साटो हामी परम्परागत शैलिमा ट्राफिकलाई सडकमा धुलो खुवाएर उभ्याइरहेका र संसारलाई गिज्जाईरहेका छौं । धार्मिक र पर्यटकिय स्थानहरुको विकास गरी त्यसैबाट मनग्य आम्दानी गर्ने हाम्रो श्रोत खेर गइरहेको छ । संसारलाई देखाउने हाम्रा अमूल्य प्रकृतिहरु नि:शूल्क दिइरहेका छौं । उद्योग धन्दाको प्रादुर्भाव गर्न सकेका छैनौं । निजी क्षेत्रको उद्योग धन्दालाई उपयुक्त वातावरण बनाइरहेका छैनौं । बरु उल्टै त्यसैलाई कमिसन खाँने ठाउँ बनाइरहेका छौं ।
विकासका लागि जति पनि खर्च हुन्छ त्यसको दीर्घकालसम्म उपयोगिताको कुराको चासो दिएका छैनौं । आज बनाउने र भोली भत्काउने काममा छौं । आज बन्ने र भोली भत्कने गुणस्तरलाई हामीले विकास भनेका छौं । प्राकृतिक श्रोतको दोहन उच्च बनाएका छौं । सार्वजनिक स्थानहरु मिचेका छौं र आफ्नो भनेका छौं । वातावरण संरक्षणमा चासो दिएका छैनौं । भ्रष्टाचारमा चुर्लम्म छौं ।
हामीसगैंका मुलुक कता पुगिसके । समुन्द्रले नछोएका हाम्रा जस्ता मुलुक कति अघि बढी सके । हामी अघि नबढ्नुमा समुन्द्रलाई दोष दिएर बसेका छौं । भारततिरका ढोका बन्द भएको दिन हाम्रो मुख बन्द हुने कुरा पटक-पटक हामीले भोगिसकेका छौं । त्यसको विकल्पको रुपमा हामीले चीनको ढोका देख्यौं । हाम्रो जल र जमिन देखेनौं, हाम्रा विदेश गएका पाखुरा देखेनौं । जल जंगल र माटोले उर्वर हाम्रो जस्तो मुलुक बाँझो बस्नुमा हाम्रो सोँच बाधक छ । नदिसगैं जोडिएका उर्वर फाँटहरु बाँझो बस्नुमा जग्गावाला मात्र हैन, हाम्रो सरकार र विकासे सोचमा खडेरी परेको छ ।
निजी क्षेत्र समेतका कारण विद्युत उत्पादनमा बढोत्तरी भएका बेला नदिको पानीलाईमाथि पहाडसम्म उचाल्ने योजना, आधुनिक कृषि औजार, फिल्डमै बस्ने कृषि प्राविधिक, विउ विजन र किटनाशक औषधि, बजारको प्रवन्ध, सहकारी मार्फत खेति व्यवस्थापन, सित भण्डार जस्ता कुरामा जोड दिन सक्ने हो भने हामी मुलुकको कृषिबाटै कायापटल गर्न सक्छौं । अहिले यी काम भएका छैनन् भन्दा पनि हुन्छ । अहिलेको कृषि क्षेत्रको विकास हेर्दा सरकार तरकारीको विउ दिन्छ, विषाधि दिदैन, । मल दिन्छ, पानी दिदैन । कृषि औजार अनुदानमा दिन्छ, मर्मत गर्ने प्राविधिक दिदैन । बजार दिन्छ, सित भण्डार दिदैन । प्रचार दिन्छ, प्राविधिक दिदैन् ।
ठुला पूर्वाधार र संसारलाई चकित पार्ने चीनको जस्तो विकास पछि छोडौं, कृषिमा आधारित उद्योग धन्दा खोल्ने हो भने पनि हामी अन्य मुलुकको दाँजोमा पुग्न धेरै बर्ष कुर्नु पर्दैन । कृषि जन्य उत्पादन संसारलाई दिन सक्षम हुन्छौं । यति सानो कुरामा पनि किन हाम्रो नेतृत्वले सोँचिरहेको छैन । किन भुलभुलैमा नागरिकलाई राखिराखेको छ ? सोच्न सकिएको छैन । अहिले राम्रै खाँउ भोली जे होला भन्ने तालले सरकार संचालन गर्नु राम्रो कुरा अवश्य होईन । अस्थायी विकासले तत्काललाई स्यावासी पाएपनि भोलीको पुस्ताले हाम्रो नेतृत्वलाई अवश्य धिकार्नेछ । यसबाट बच्नका लागि वडादेखि सिंहदरबारसम्म बस्ने शाषकले एकपटक गम्भिर हुने कि ?