टीकाप्रसाद भट्ट
मन्थलीमा लकडाउन लागेपछि मर्निङवाकमा निस्कने धेरै छन् । घरमा बस्नुपर्ने, काम केही नहुने र थरिथरीका खाना बनाएर खाने क्रम बढेकोले मानिसहरु मोटाउन थालेका छन् । मोटाइयो भन्दै मर्निङवाकमा जाने धेरै हुल छन् । झट्ट हेर्दा मर्निङवाकबाटै कोरोना सल्केला कि ? भन्ने डर छ । म पनि नियमित मर्निङवाक गर्ने मान्छे । तर अहिले बानी बिग्रीएको छ । सातामा दुई दिन मरेर जान्छु । कुनै साथि टुंगो छैन । प्राय एक्लै । पहिले देखिकै मोटो भएकाले मोटाईको चिन्ता छैन् । लकडाउनमा खासै बढीएको पनि छैन् ।
विहान हिड्दा कोहि संगीत सुन्दै हिड्छन् । कोहि साथीभाईसंग कुरा गर्दै हिडिरहेका भेटिन्छन् । म पनि त्यसै गर्ने हो । तर अहिलेका दुई विहान मैले न साथीलाई लगें न संगीत सुने । बाटैबाटो हामीले गरेका विकास नियाल्दै हिंडे । अघिपछि त्यता ध्यानै दिइदैनथ्यौ । केन्द्रीत भएर हेर्दा हाम्रो वास्तविकता र यथार्तता देखिदो रहेछ । हाम्रो लागि, हाम्रो अगुवाईमा, हामीले नै उपयोग गर्ने, हाम्रै घर आंगनको विकास अलि मसिनो ढंगले नियाल्दै हिडें । त्यस क्रममा मेरा धारणा र विकासलाई जोडेर हेंरे । स्थानीयको मागको आधारमा भएका विकास , संचालन र त्यसको गुणस्तरको कुरा मसिनो ढंगबाट छुने प्रयास गरें ।
मेरो आंखा भर्खरै सकिएको (झण्डै ५ महिनाअघि भएको ) मन्थलीको चक्रपथको कालोपत्रेमा पुगे । मर्निङवाक म त्यहि बाटो हिड्छु । अरु धेरै हिड्छन् । मेरो आंखा मात्र हैन धेरैको आंखा त्यहि सडकको खाडलमा ठोकिन्छ । कालोपत्रे उप्किएर बनेका खाल्डाखुल्डीले च्वास्स घोच्यो । जस्ले निर्माण गरेको भएपनि राज्यको करोडौं लगानी त्यो कालोपत्रेमा छ । नागरिकको कर । सकि नसकि हाम्रै मान्छेले बुझाएको घर घुमिफिरी हाम्रोमा आईपुगेर भएको विकास ५ महिनामै प्वाल परेको छ । थोत्रिएको छ ।
मैले सडक निर्माण गर्ने पक्षसंग अनौपचारिक रुपमा सोंधे – कालोपत्रे त चारै महिनामा चट् भएछ नि ? भनेर । उत्तर पाँए – अँ खाडल परेको छ, ठेकेदारले मर्मत गरिदिने समय बाँकी छ, हामी भन्छौं , मर्मत हुन्छ ।
मैले मर्मत कस्ले गर्ने र कहिले हुन्छ ? भनेर सोधेको थिईन । मलाई निर्माणको एक बर्षसम्म योजना दुरुस्त राख्नु पर्ने जिम्मा निर्माण व्यवसायीको हुन्छ भन्ने पनि थाहा थियो । मेरो प्रश्न त गुणस्तरमा थियो । त्यसको उत्तर मैले पाईन ।
सरोकारवालाले निर्माण व्यवसायीलाई पत्र लेख्ला, मर्मत गर्न लगाउला, उस्ले मर्मत गर्ला पनि । हेर्दा दुरुस्त पनि बनाइदेला । त्यसमा मेरो कुनै सन्देह छैन । सन्देह के मा छ भने , उस्ले मर्मत गरेको ३ महिनापछि फेरि कालोपत्रे प्वाल पर्दा चाँहि के हुन्छ ? निर्माण व्यवसायीको त्यतिबेला मर्मत पिरीयड बाँकी रहदैन । जिम्मेवारी हुदैन । अनि अहिले मलाई उत्तर दिने मान्छेले के उत्तर देला त्यति बेला ? के त्यसले बहुबर्षसम्म काम देला ? टिक्ला ?
छिमेकी जिल्ला दोलखामा स्वीस सरकारले २०३८/२०३९ साल तिर सडक निर्माण गर्दा इन्जिनियरले गुणस्तर नभएको काम ठाउँको ठाउँ भत्काएर दोहो¥याउन लगाएको कुरा मैले सुनेको थिए । त्यहि भएर नै होला त्यो सडकको कतिपय स्थानमा अझै त्यहि बेलाको कालोपत्रे कायमै छ । उप्कीएको छैन । दिगो छ, टिकेको छ ।
तर हामीले कहिल्यै त्यसो गरेनौं । दोष मन्थलीको सडकमा मात्र छैन, हैन । अपवाद बाहेक अधिकांश योजना उपभोक्ता या निर्माण व्यवसायीको तजविजमा छोडिदियौं । जस्लाई विकास चाहिएको हो, त्यो वर्ग उपभोक्ता समितिमा बसेर कमाउने ध्याउन्नमा लाग्यौं । भोली आफैले उपयोग गर्ने योजनाका बारेमा हामीलाइ चासो नै छैन । जस्लाई चाहिएको हो , त्यहि वर्ग कमाउन खोज्छ । दुनियाँ लगाएर कागज मिलाईदिन दबाबै दिन्छ । प्राविधिक पुगेर नापिदिने काम गर्छ र नापको आधारमा भुक्तानी दिइन्छ । गुणस्तरको कुरा कसैको चिन्ताको विषय बन्दैन । बन्ने गरेको छैन । लाज छोप्ने भए पुग्यो । त्यसैले हाम्रो समाजमा भएका विकासका योजना केहि दिनको लागि …….. को न्यायो भएका हुन्, हुने क्रममा छन् । उदाहरण धेरै छन् । खानेपानीको पाईप बिच्छ्याउने ठाउँ नै नहुने गरी पाईप बिच्छाइसकेका हामी दिगो योजना नुहुँदा तिर्खाइरहेका छौं । सिंचाईका कुला पहिरीन्छ, फेरी बनाएर पानी ल्याउदैनौं । सडक खन्दा पाईप काटिन्छ, पानी बोेकेर खान्छौं, मर्मत गरेर पानी खादैनौं । घडेरी खार्दा नालामा माटो भरिदिन्छौं । बाढी आउदा नालामा पानी बग्न पाउदैन । हामी नाला खोल्दैनौं तर सडकमा पानी बगेको भिडियो खिचेर फेसबुक तिर हाल्दिन्छौं र दुनियाँलाई गालि गर्न तिर लाग्छौं, । आफैले पुरेको नाला खोलेर निकास दिनुपर्छ भन्ने कुराको हेक्का राख्दैनौं ।
मर्निङवाककै क्रममा हाटेचौर पुगें जहाँ सोमबारे हाट लाग्छ । सरकारी सार्वजनिक जग्गामा यता र उता फर्काएर असरल्ल देखिने छाप्रा । त्यसलाई मज्जाले मिलाएर बनाउन पाएको भए ? फुटपाथ गजब बनाउन सकिएको भए बजारका सामाग्री मात्र हैन, हाटबजारमा पुग्ने समेतले ओत लाग्ने स्थान बन्न सक्थ्यो । नजिकै सार्वजनिक शौचालयको बेबारिसे ताल हेर्दै म बालुवाको बगरमा झरें ।
तामाकोशीको किनार । जहाँ केहि बर्षदेखि तामाकोशीको भंगालो आउन छोडेको छ । मैँ हु हाटेचौरमा कटहर खाएर त्यहि नजिकै आएको तामाकोशीमा चोप पखाल्ने । अहिले भंगालो छैन । बगरमा केहि छेकाबार पर्खाल लगाइएको छ । त्यहि फाईदा उठाएर अहिले त्याँहा विभिन्न निर्माण कार्य गरीएको छ । कतै पानीका इन्टेक वनेका छन् , कतै विद्यालयले तारबार गरेको छ, कतै माछा पोखरी अनि कतै कोशि पुजाको लागि वनाइएको ट्रस ।
हाटेचौरकै नजिक माझीगाउंका बासिन्दाको आयआर्जनका लागि गरिवी निवारण कोषको पैसाले बनाएको पाखेरी खङरंङ्ग छ । पानी छैन, कता माछा हुनु ? पोखरी बनाउने बेला धेरै फुर्ति थियो – बनाइदिनेको अनि बनाईमाग्नेको । के के न होला भन्ने आशाले बनाएको पोखरीमा केहि बर्ष माछा उफ्रिए पनि । तर अफसोच पोखरी सुकेको ३ बर्ष भयो । के त्यसको उपयोग सकियो ? अनि उद्धेश्य सकियो ? कि जुन समुदायको गरिवि निवारण गर्न बनाईयो या पोखरीको माग गरियो त्यसबाट आएको लाभले समाजमा गरिवि सकियो ? मलाइ लागेन कि यो पोखरी बनाउनु पछाडिको उद्धेश्य पुरा भएको छ । यहाँका मानिसहरुको आयआर्जन मार्फत जनजिवन फेरीएर अर्थात पैसाले पुगेर यो पोखरी सुकाइएको पक्कै होईन जस्तो लाग्यो । अनि किन त पोखरीमा पानी नभएको ? किन त माछा नहालेको ? । उत्तर पाईदैन । मैले सोंचे यसमा न संस्थाको न समूदायको कसैको दोष हैन । दोष त हाम्रो विकास उपयोगीताको बारेमा बनेको धारणामा छ । विकास माग्न मरिहत्ते गर्ने , उपभोक्तामा बस्न अझ भए भरको शक्ति लगाउने , गुणस्तरमा ध्यान नदिने र त्यसको दिगो संचालनमा चासो नदिने । यो हाम्रो समाजमा संस्कार बनिसकेको छ । त्यहि सोचले पोखरी सुकेको हो । त्यसमा भएको खर्च, लगानी, उद्धेश्य र दिगो संचालनको बारेमा कसैलाई चासो छैन । मानौं त्यो पूर्वाधार अरु कसैको हो ।
तामाकोशीकै किनारमा यो बर्ष निलो जस्ताले छाएको लामो टहरो वनेको छ । म त्यहि पुगें । बर्षायाममा पानीको हुत्ता खेल्ने ठाउंमा बनेको टहरो जेठदेखि नै कोशीसंग लग्लग छ । म चाहन्छु, त्यो एक बर्ष बाँचोस् । कम्तिमा हाम्रो समुदायले जे उद्धेश्यले त्यसको माग गरे, एकबर्ष भएपनि त्यसमा बसुन र आफ्नो संस्कार अनुसारको पर्व मनाउन् । यो वर्ष तामाकोशीको भेल त्यति नउर्लिदेओस् ।
तामाकोशीको भेल कत्रो आउँछ भन्ने कुरा मलाई भन्दा बढी त्यहि समुदायलाई थाहा छ । जस्ले त्यो टहरो त्याँहा बनाउन लगाए । प्राविधिकले किन त्याँहा बनाउनु हुदैन भनेनन् त्यो उनैलाई थाहा होला । धेरै जान्ने हुन मैले खोजेको पनि हैन । तर मेरो कुरा के मात्र भने हाम्रो संस्कारका लागि त्यो चाहिएको हो भने केहि सुरक्षित स्थानमा (तिनलाल सालिकको नजिकैको भित्तामा) बनाउन पनि सकिन्थ्यो होला नि ? पुजा कोशिमा ग¥यो, अनि त्यहाँ आएर अरु कार्य गर्दा हुन्थ्यो कि ? भोली टहरो बगाइहाल्यो भने न मेरो भन्ने कोहि छन् न रुने । म भन्छु, हाम्रो पैसा अर्थात करले बनाएको सवै योजनामा जनताको भविष्य गाँसिएको छ, त्यसमा चिन्ता हुनुपर्छ । घरमा पालेको हजार रुपैयाँको बस्तुभाउ मर्दा मान्छे रुन्छ, तर करोडौंको योजना केहि अवधिमै नासिदा या विग्रदा मान्छेको मन किन रुदैन ? । कतिपय अवस्थामा समाजमा सरकारी पैसामा माग्ने पक्षले तेरा ………. को हो र ? देउन खुरुक्क भन्ने पनि सुनेको छु । सरकारी पैसामा किन यस्तो दृष्टि ? किन यस्तो धारणा ?
टहरा नजिकैको तार जाली हेरे । नदी नियन्त्रणको लागि बनाइएको । केहि बर्षअघि बनाइएको तारजालीको पर्खाल मर्किएको र बटारिएको छ । ढल्न ठिक्क छ । त्यसैले थाहा हुन्छ, त्यहाँ तामाकोशीको छाँल कति ठोकिन्छ भन्नेकुरा । तारजालीकै कुरा गरौं , यदि साँच्चै हामीले नदि नियन्त्रणकै काम गरेका हौं भने ठुल्ठुला स्पर किन बनाउदैनौं ? आँखामा छारो हालेको जस्तो एक एक वटा जालिको पर्खाल किन हालिरहेका छौं ? यस्ता पर्खाल यसअघि कति तामाकोशीमा विलाएको कुरा हामीलाई किन हेक्का नभएको ?
क्रमस :